काठमाण्डु – नेकपा माओवादी केन्द्रको पालिका कमिटीको अधिवेशन धमाधम भइरहेको छ । ओखलढुंगाका ८ पालिकामध्ये ६ वटा पालिकामा भएको अधिवेशनले पालिका कमिटीको नयाँ नेतृत्व चयन सम्पन्न गरेको छ ।
जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ्, चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बाबुराम गौतमले जानकारी दिए । उनले अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको र दुई पालिकाको मंसिर तेस्रो साताभित्रै अधिवेशन सम्पन्न भइसक्ने बताए ।
पालिका सम्मेलनबाट चिशंखुगढीमा नरेन्द्र बस्नेत, खिजीदेम्वामा चन्द्रमान तामाङ, मानेभञ्ज्याङमा टंक किराति, लिखुमा नवीन पौडेल, सुनकोशीमा छविरमण धमला, चम्पादेवीमा खड्गबहादुर कार्की अध्यक्ष चयन भएका छन् ।
पालिका अधिवेशनमा भूगोलबाट दुई अनिवार्य हुने गरी सबै पालिकाबाट सदस्य संख्याका आधारमा प्रदेश प्रतिनिधि पनि चयन भएका छन् । ओखलढुङ्गाकोे सदरमुकाम समेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । ती पालिकामा पनि अधिवेशनको मिति तय भइसकेकाले मंसिरको २० गते भित्रै अधिवेशन सम्पन्न हुने जिल्ला इन्चार्ज गौतमले बताए ।
देशभरिकै कान्छि उपाध्यक्ष
त्यस्तै पछिल्लो समय युवाहरु राजनीतिक नेतृत्वमा पनि स्थापित हुँदै गएका छन् । हालै ओखलढुंगा कांग्रेसको जिल्ला अधिवेशनमा २२ वर्षीया युवति प्रदेश प्रतिनिधि निर्वाचित भएको खबर सेलाउन नपाउँदै अर्की २० वर्षीया युवति माओवादी केन्द्रको पालिका कमिटी उपाध्यक्ष बनेर चर्चामा छिन् ।
उनी हुन् ओखलढुंगाको चम्पादेवीकी अनुशा लुइटेल । अखिल क्रान्तिकारीको जिल्ला नेतृत्वमा रहेकी उनी हाल पार्टीको गाउँपालिका अधिवेशनबाट चम्पादेवी गाउँपालिका कमिटी उपाध्यक्ष सर्वसम्मत चयन भएकी हुन् । स्नातक तहमा अध्ययरत उनी विद्यार्थी राजनीतिमा थिइन् । अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष बनेको केही समयमै उनको पार्टीमा इन्ट्री भएपछि चर्चा शुरु भएको छ ।
लुइटेल माओवादीमा पार्टीको कार्यकारी पदमा पुग्ने देशभरीकै सबैभन्दा कान्छी नेतृ हुन् । यस अघि कांग्रेस अधिवेशनमा २२ वर्षीया बिन्दा बोगटी प्रदेश प्रतिनिधि निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया