काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनलाई लक्षित गर्दै कटाक्ष गरेका हुन् । ‘पार्टीलाई तीन टुक्रा पारेर एकता महाधिवेशन भन्न लाज लाग्दैन ?,’ उनले भने ।
त्यस्तै प्रचण्डले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने बताए । ‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ’, प्रचण्डले भने, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’
प्रचण्डले नेकपा मालेका नेता सिपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भनेकोप्रति पनि असहमति जनाउँदै भने, ‘एउटा कम्युनिष्ट पार्टीको नेता भएर महेन्द्रलाई राष्ट्रवादी देख्ने सिपीजी के राप्रपाको अध्यक्ष बन्न खोजेको हो ? ।’
अध्यक्ष प्रचण्डले राप्रपाका तीनै जना अध्यक्षलाई एकतावद्ध भई अगाडि बढ्न र साँच्चैको एकता महाधिवेशन बनाउन शुभकामना पनि दिए ।




प्रतिक्रिया