सुदूरपश्चिम प्रदेश सभापतिका लागि बोहरालाई देउवाको ‘ग्रीन सिग्नल’

सुदूरपश्चिम प्रदेश सभापतिका लागि बोहरालाई देउवाको ‘ग्रीन सिग्नल’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा – सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा प्रदेश अधिवेशन सुरू हुँदैछ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पनि प्रदेश अधिवेशनको माहोल तातेको छ ।

देउवाको गृह प्रदेश भएको कारण पनि यहाँको अधिवेशनलाई विशेष रूपमा हेरिएको छ। प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार बिहीबार दिउँसो २ बजे धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन उद्घाटन हुने कार्यतालिका छ ।

अहिलेसम्म सुदूरपश्चिममा सात जनाले पार्टी सभापतिका लागि इच्छा प्रकट गरेका छन्। जसमा विद्यार्थी नेतादेखि पूर्वराजदूतसम्म छन् ।

सभापतिका लागि डडेल्धुराका सांसद गोविन्दराज बोहरा, कैलालीका पार्टी सभापति नरनारायण शाह (मनु), बझाङका पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंगबहादुर सिंह, अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, कैलालीका महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही र डोटीका पूर्व मन्त्री वीरबहादुर बलाएरले आकांक्षा देखाएका छन् ।

बोहरालाई देउवाको ‘ग्रीन सिग्नल’

सभापतिका दावेदार सात जना नै संस्थापन समूह (देउवा) का हुन्। संस्थापनइतरका कुनै पनि नेता सभापतिको उम्मेदवारी दिनका लागि भने प्रष्ट रूपमा खुलेका छैनन् ।

सात जना नै देउवा समूहका भएका कारण यीमध्ये सभापतिमा कसले बाजी मार्ला ? भनेर अनेकन अड्कल बाजी भइरहँदा गोविन्दराज बोहराले बाजी मार्ने सम्भावना रहेको उनीनिकट एक नेताले बताए ।

‘सात जना नै देउवा निकट हुन्। देउवाले जसलाई बनाउन चाहे उनी नै प्रदेश सभापति बन्छन् । देउवाले डडेल्धुराका बोहरा र डोटीका बलायरमध्ये एउटालाई बनाउन निर्देशन दिएका छन् । तर, बोहराको सम्भावना भने बलियो छ,’ उनले भने, ‘बोहरालाई बनाउन छलफल भइरहेको छ। तर, निष्कर्ष आउन बाँकी छ ।’

देउवासँग छलफल गरेर आफूले प्रदेश सभापतिका लागि उम्मेदवारी दिन लागेको बोहराले बताए। उनी भन्छन्, ‘मलाई प्रदेश सभापति बनाउन देउवा सकारात्मक छन् ।’

को हुन् बोहरा ?

बोहराको जन्म विस २०१८ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी घटाल (चम्साल) मा भएको हो । प्राथमिक शिक्षा घटाल माध्यमिक विद्यालयबाट लिएका उनले माध्यमिक शिक्षा भने महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट लिएका थिए ।

उनले कैलाली बहुमुखी क्याम्पसमा आईए पढ्दै गर्दा राजनीतिक करियर सुरू गरेका थिए । कैलाली बहुमुखी क्याम्पसमा उनी स्ववियु उपसभापतिसमेत बनेका थिए । २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएरसमेत उनले काम गरेका थिए ।

उनलाई देउवाका अति विश्वासिला पात्रका रूपमा लिइन्छ । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी चार पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र चार पटक महासमिति सदस्यसमेत भइसकेका छन् ।

उनी नेपाली कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतकसमेत हुन् । डडेल्धुरा प्रदेश (ख) बाट प्रदेश समानुपातिक सांसद बनेका बोहराले सातौं जिल्ला अधिवेशनमा देउवापछि सबैभन्दा बढी मत ल्याएका थिए ।