सर्वोच्चमा पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

सर्वोच्चमा पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा आज झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा कोरोना भाइरस संक्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरूलाई नदिएपछि न्यायाधीशहरू छलफलमा बस्दा पेसी तोक्न ढिला भएको थियो भने सुनुवाइ पनि प्रभावित बन्यो । दैनिक बिहान १०ः१५ बजेतिर पेसी तोकिनेमा आज १ः३० मा मात्र पेसी तोकिएको थियो । बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दामा पेसी तोक्न सुरु गरिएअनुसार आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको थियो ।

गोला प्रक्रियाबाट १० वटा इजलास गठन भएका थिए । तीमध्ये दुईवटा पूर्ण, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको थियो । ती इजलासमा कूल १९२ मुद्दा सुनुवाइका लागि राखिएको थियो ।

न्यायाधीशहरू मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलासमा ३० वटा मुद्दामा पेसी तोकिएकामा ती सबै मुद्दा नै हेर्न नभ्याइने सूचीमा छ । त्यस्तै न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा २१ मुद्दा सुनुवाइका लागि राखिएकामा सबै हेर्न नभ्याइने सूचीमा छन् ।
न्यायाधीशहरू प्रकाशमान सिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि १८ मुद्दा तोकिएकामा पूरै हेर्न नभ्याइने सूचीमा छ । न्यायाधीशहरू सपना मल्ल र तेजबहादुर केसीको संयुक्त इजलासमा २८ मुद्दामा पेसी तोकिएकोमध्ये २७ वटा हेर्न नभ्याइने सूचीमा छ ।

त्यस्तै दीपककुमार कार्कीको एकल इजलासमा १९ वटा मुद्दामा पेसी तोकिएकामा १८ हेर्न नभ्याइने सूचीमा छ । गत  कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ । बन्दी र निवेदनबाहेकका मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेसनमा उपचाररत छन् ।