कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा तीन जना निर्विरोध, मतदान जारी

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा तीन जना निर्विरोध, मतदान जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि सुरु भएको मतदानमा तीन जना निर्विरोध निर्वाचित भएका छन् ।

केहीबेर अघिबाट धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा ५९ सदस्यीय कार्यसमितिका लागि शुरु भएको मतदानमा तीन जना निर्विरोध निर्वाचित भएका हुन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन्।

प्रदेश कार्यसमितिको ५६ पदका लागि १ सय ७९ जनाको उम्मेदवारी परेको छ । जसमा अहिले निर्वाचन भइरहेको छ ।  निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ भने ४८ प्रदेश सदस्य चयन गर्ने छ । जसमा पदाधिकारीका लागि १९ जनाको र १ सय ६० जनाले सदस्यमा उम्मेदवारी दिएका छन् ।

काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि भइरहेको मतदानमा ९ जिल्ला र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट १ हजार १७ प्रतिनिधि सहभागी रहेको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए ।

सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सह महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

उता संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खीना भण्डारीले उम्मेदवार दिएका छन् ।यस्तै सह महामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महरा रक्षाको पनि उम्मेदवारी दिएका छन् ।