दुबई उड्न लागेका ७६ जनालाई त्रिभुवन विमानस्थलबाट फर्काइयो

दुबई उड्न लागेका ७६ जनालाई त्रिभुवन विमानस्थलबाट फर्काइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यागमन विभागले ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।

उनीहरु विदेश जानुको उद्देश्य शंकास्पद देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए । ‘आशंका लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए,’ उनले भने । यसरी विदेश जान लागेकामध्ये ७० प्रतिशत महिला छन् ।

उनीहरू ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । ‘उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन खोजेको जस्तो देखिन्छ, कैफियत देखियो भने अधिकारप्राप्त संस्थाबाट अनुसन्धान हुन्छ,’ शाहीले भने ।

यस विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृह मन्त्रालयमा लिखित जानकारी गराउने उनले बताए । सो विषयमा आज मात्र नेपाल वायुसेवा निगमबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।

उनीहरु आइतबार राति त्रिभुवन विमानस्थलबाट दुबई उड्न लागेका थिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले केही परिवारसहित आएका व्यक्ति भने प्रमाणका आधारमा विदेश पठाइएको जानकारी दिए ।

‘सहकारीको लेटरप्याडबाट विदेश जान लागेका थिए,’ महानिर्देशक भट्टराईले भने, ‘उनीहरु विदेश जानुको उद्देश्य के थियो, त्यसरी भ्रमण गर्ने अधिकार छ कि छैन, छ भने स्थानीय तहले नियमन गर्ने सहकारीले त्यहाँबाट आधिकारिक अनुमति प्राप्त गरेको हो कि होइन भन्ने जोडिन्छ ।’

उनका अनुसार नियमन गर्ने निकायबाट अनुमति लिएर ल्याउन भनेर फर्काइएको हो । ‘हाम्रो उद्देश्य कोही पनि विदेश गएर अलपत्र नपरुन् भन्ने हो,’ उनले भने ।