कांग्रेसमा संस्थापन पक्षबाट महत र पौडेल महामन्त्रीको उम्मेदवार,प्रकाशमानको टिमबाट शर्मा उठ्न सक्ने

कांग्रेसमा संस्थापन पक्षबाट महत र पौडेल महामन्त्रीको उम्मेदवार,प्रकाशमानको टिमबाट शर्मा उठ्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन समुहबाट महामन्त्रीमा सहमहामन्त्री प्रकाशशरण महत र युवा नेता प्रदिप पौडेल उम्मेदवार बन्ने निश्चित भएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा नेता कृष्ण सिटौला पक्षले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेपछि पौडेल महामन्त्री बन्ने टुंगो लागेको हो । त्यसैको निर्णय गर्नको लागी संस्थापन पक्षको बैठक अहिले बालुवाटारमा बस्दैछ ।

देउवा पक्षबाट महामन्त्रीका लागी गृहमन्त्री बालकृष्ण खांड, संचारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरु एनपी साउंद र विश्वप्रकाश शर्माले दावी नछोडेपछि सभापति देउवा अफ्ठेरोमा परेका छन् । कांग्रेसमा दुई महामन्त्रीको व्यवस्था छ । एउटा महामन्त्रीमा महत र अर्कोमा पौडेल हुने वित्तिकै आफु निकट प्रभावशाली नेताहरुलाई के मा व्यवस्थापन गर्ने भन्ने विषय देउवाका लागी चुनौतीपूर्ण बनेको छ ।

महामन्त्री नपाए देउवा समुहभित्रै विद्रोह हुने सम्भावना पनि छ । नेता विश्वप्रकाश शर्मा प्रकाशमानको टिमबाट लड्ने सम्भावना समेत बढ्दै गएको स्रोतले बतायो । सिंहको टिममा उपसभापतिमा सुजाता कोइराला लड्ने तयारीमा लागेकी छन् ।

सिटौला समुहबाट महामन्त्रीमा पौडेल,सहमहामन्त्रीमा उमाकान्त चौधरी र केन्द्रीय सदस्यमा शिव हुमागाईलाई राख्ने सहमति बनेको छ । उपसभापतिको तयारी गरिरहेका सिटौला भने यसपटक कुनै पनि पदमा उम्मेदवार नबन्ने भएका छन् । उनलाई देउवाले राष्ट्रपति बनाउने आश्वासन दिएको बताइएको छ ।

संस्थापन इतरको पक्षबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल उठ्ने लगभग निश्चित भएको छ । सभापतिमा रामचन्द्र पौडेल पक्षमा सहमति नभएपछि नेता प्रकाशमान सिंह र शेखर कोइरालाले फरक–फरक प्यानल बनाउने सम्भावना पनि छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले पदाधिकारीमा अहिलेसम्म आफु निकट कुनै पनि नेतालाई बचन दिएका छैनन । उनले आकांक्षीहरुलाई अन्तिम समयसम्म रोकेर राख्ने र असन्तुष्टहरुलाई व्यवस्थापन गर्ने रणनीति बनाएका छन् । देउवाले जसरी पनि पहिलो चरणमै जित्ने गरी तयारी गरिरहेको स्रोतको दावी छ ।