काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शेखर कोइराला प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उनले डा शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले बतायो ।
संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । नेता पकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै हालतमा पनि पछि नहट्ने अडान लिएपछि संस्थापनइतर समूह विभाजित भएको हो । अब संस्थापनइतर समूहबाट डा. कोइराला उम्मेदवार बन्ने भएका हुन् ।
यद्यपि रामचन्द्र पौडेलको समर्थन कसले पाउने भन्ने खुलेको छैन । तर प्रकाशमानका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्न पौडेलनिकट नेताहरुको दबाब छ ।
शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया