पठाओको यात्रु लुट्ने अस्त्र : ‘सर्ज चार्ज’

पठाओको यात्रु लुट्ने अस्त्र : ‘सर्ज चार्ज’


यशोदा भुजेल/काठमाण्डु – म पेशाले सञ्चारकर्मी । पत्रकार भएपछि कहिले, कति बेला कहाँ पुग्नुपर्ने । नेपालमा भरपर्दो सार्वजनिक सवारी साधन छैन । त्यसमाथि उपत्यकामा सार्वजनिक यातायातको यात्रा सकसपूर्ण हुन्छ । भनेको ठाउँ जान नमान्ने र बार्गेनिङ गर्ने ट्याक्सीको विकल्पको रूपमा पछिल्लो समय राइड शेयरिङ सेवालाई सबैले रुचाएका छन् ।

काठमाण्डुको ट्राफिक जाम र भीडभाडयुक्त सार्वजनिक यातायातबाट दिक्क भएर करिब दुई वर्षअघिबाट मैले राइड सेयरिङ एप पठाओ प्रयोग गर्न थालेँ । सुरु सुरुमा पठाओको सेवाबाट सन्तुष्ट भएकी म अहिले ठगिन थालेको महसुस गर्दै आइरहेकी छु । त्यसको कारण हो ‘सर्ज चार्ज’ । सर्ज चार्ज भन्नाले कुनै ठाउँमा यात्रुको चाप धेरै भएपछि बढी भाडा कायम गर्नु र त्यसतर्फ राइडरलाई लोभ्याउनु हो ।

साँझ र बिहान कार्यालय समयमा कोटेश्वरदेखि ललितपुरको झम्सिखेलसम्म सार्वजनिक यातायातको भीड छल्न पठाओ बुक गर्छु । तर, सर्ज चार्जको नाममा पठाओले जथाभावी बढी भाडा असुल्न थालेपछि ठगिएको महसुस हुन थाल्यो । जुन समयमा यात्रुलाई सेवा चाहिएको हुन्छ, त्यहि समयमा बढी शुल्क लिएर ट्याक्सीकै बराबरी भाडा लिन थालिएपछि राइड सेयरिङ सेवा लिएको के अर्थ ? म मात्र हैन, पछिल्लो समय पठाओले सर्ज चार्जको नाममा यात्रु ठगी गर्न थालेको सर्वत्र गुनासो आउन थालेका छन् ।

दैनिक पठाओ प्रयोग गर्ने बानेश्वरकी मीना पछिल्लो समय ठगिएको महसुस गर्छिन् । समयको बचत गर्न र भीडभाडयुक्त सार्वजनिक यातायात छल्न उनी दैनिक जसो बानेश्वरदेखि बालाजुसम्मको रुट प्रयोग गर्छिन् । तर, पछिल्लो समय पठाओले मनलाग्दि शुल्क लिन थालेपछि दिक्क भएको बताउँछिन् ।

‘पठाओले पछिल्लो समय यात्रु लुट्ने अस्त्रको रुपमा ‘सर्ज चार्ज’लाई प्रयोग गरिरहेको छ,’ उनी भन्छिन्, ‘हामीलाई चाहिने बेला तोकिएभन्दा बढी ट्याक्सिकै सरह शुल्क लिन थालेपछि राइड सेयरिङ सेवा लिनुको अर्थ छैन ।’ काठमाण्डु, भक्तपुर र ललितपुरका अधिकांश स्थानहरुमा पठाओले २४ सै घण्टा सेवा दिँदै आइरहेको छ ।

पछिल्लो समय काठमाण्डु उपत्यकामा राइड शेयरिङ सेवाहरू निकै लोकप्रिय हुन थालेका छन् । यद्यपि राइड शेयरिङ कम्पनीहरू थुप्रै भए पनि धेरै प्रयोग हुनेमा पठाओ नै अगाडि छ । सुरुमा सस्तो मूल्य राखेर सुरु भएको पठाओले पछिल्लो समय विभिन्न बहाना बनाएर सर्ज चार्जको नाममा एउटै गन्तव्यका लागि महँगो भाडा उठाउन थालेको हो । त्यसका पछाडी राइड शेयरिङमा पठाओको एकाधिकार भएकाले समेत यस्तो परिस्थिती आएको हो ।

अहिले नेपालमा पठाओ वाहेकका राइड शेयरिङ कम्पनीको खासै उपस्थिती छैन । पिकआवरहरुमा कार्यलय समय, राति १० बजेपछि र पानी परेको समयमा पठाओले सर्ज चार्जको नाममा १० प्रतिशतदेखि ४० प्रतिशतसम्म शुल्क लिँदै आइरहेको छ ।

सेवाग्राही मात्र हैनन् चालकहरुले समेत पठाओले सर्जको नाममा यात्रु ठगी गर्न थालेको गुनासो गर्न थालेका छन् । ‘कतिपय यात्रुले त सेवा प्रयोग गरिसकेपछि एउटै रुटमा फरक फरक शुल्क लिन मिल्दैन, दिदैनौं भन्दै बढी भाडा तिर्न मान्दैनन् र नदिइकन हिड्छन् । यस्तो अवस्थामा हामीले के गर्ने ?,’ एक पठाओ चालक गुनासो गर्छन्, ‘राइड शेयरिङ सम्बन्धी कानुन नहुँदा पठाओले यात्रुलाई विभिन्न बाहानामा अतिरिक्त शुल्कको भारी बोकाउन खोजेको होकि भन्ने देखिएको छ ।’

नेपालमा सेवा सुरु गरेको केही महिनासम्म ५ प्रतिशतसम्म मात्रै राइडरहरुसँग सेवा शुल्क लिने पठाओले अहिले शुल्क बढाएर २० प्रतिशत पुर्याएको छ । काठमाण्डुको सार्वजनिक सवारी साधनमा सेवा सहज नभएकाले पठाओ एपबाट मोटरसाइकल बुकिङ गर्दा सहज र छिटो गन्तव्यमा पुग्न सकिन्छ । केही समय अघि रातो नम्बर प्लेट भएकालाई भाडामा लगाउन नमिल्ने भन्दै यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले कारवाही गर्ने तयारी गरेको थियो ।

त्यतिबेला सहज रुपमा यात्रा गराईरहेको पठाओलाई बन्द नगर्न भन्दै सामाजिक सञ्जालमा पठाओको पक्षमा मत जाहेर गर्ने र विरोध जनाउने धेरै थिए । तर, अहिले पठाओले तिनै सेवाग्राहीबाट सर्ज चार्जको नाममा मन लाग्दि भाडा असुल्न सुरु गरेपछि सेवाग्राहीको आक्रोश चुलिएको छ ।

एक पठाओ प्रयोगकर्ता राजेश काफ्ले सामाजिक सञ्जालमा लेख्छन्, ‘पठाओको पनि ठगी धन्दा सुरु भइसकेछ । रेगुलर फेयरमा रेड जोन भन्दै २० प्रतिशत थप असुली धन्दा ।’ छोटो समयमै सर्वत्र लोकप्रियता कमाउन सफल पठाओले साँच्चै नै ‘रेड जोन’ भन्दै थप शुल्क लिन थालेको हो ? हामीले पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातलाई सोधेका थियौं । तर, उनले यसबारेमा कम्पनीले चाँडै नै विज्ञप्ति निकाल्ने तयारी गरिरहेको भन्दै थप बोल्न चाहेनन् ।

हाल पठाओ दुई पाङ्ग्रेको भाडा प्रतिकिलोमिटर १७ रुपैयाँ छ । यसअघि दुई पाङ्ग्रेको भाडा १५ रुपैयाँ प्रतिकिलोमिटर थियो । तेलको मूल्य बढेसँगै पठाओले प्रतिकिलोमिटर २ रुपैयाँले भाडा पनि बढाएको थियो ।