काठमाण्डु – सत्तारूढ रास्वपाका २० सांसदहरू आइतबार चीनको औपचारिक भ्रमणमा जाँदै छ ।
रास्वपा प्रतिनिधिमण्डल आइतबार सिचुआन प्रान्तबाट भ्रमण सुरु गर्दै चीनको राजधानी बेइजिङ पुगेर स्वदेश फर्किने कार्यक्रम छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सांसदहरूको टोली चीन जान लागेको हो ।
गत फागुनमा निर्वाचनपछि रास्वपाको टोली पहिलोपटक चीन जान लागेको हो । चीन जानुअघि सांसदहरूले शनिबार पार्टी सभापति रवि लामिछाने र शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए ।
रास्वपा टोलीलाई आइडिसिपिसीको अन्तर्राष्ट्रिय विभागको नेपाल मामिला डेस्क संयोजक झेङ योउयालगायत सम्बद्ध अधिकारीहरू सिचुआनको छेन्दुमा स्वागत गर्नेछन् ।
रास्वपा टोली पाँच दिन सिचुआन, तीन दिन झेज्याङ र तीन दिन बेइजिङमा रहनेछ ।
टोलीमा महामन्त्री आचार्यसहित नेताहरू गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला समिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन् ।
टोली आइतबारचीनको सिचुआन प्रान्तीय राजधानी छेन्दु पुग्नेछ भने सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका प्रान्तीय नेता तथा प्रविधि र उद्योगसँग सम्बन्धित नेताहरूसँग भेटघाट गर्नेछन् । सोही दिन उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलका विज्ञहरूसँग विचार तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
चिनियाँ कम्युनिस्ट पार्टी सिचुआन प्रान्तीय पार्टी कमिटीका सचिव वाङ सियाहोइसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाली टोली सन् २००८ मा सिचुआन प्रान्तमा आएको भूकम्पपछिको पुनर्निर्माण कार्यबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने कार्यक्रम छ । वेनछुआन काउन्टी (जिल्ला)को अवलोकन गर्नेछन् ।
बुधबार उनीहरू छेन्दुस्थित जायन्ट पान्डा प्रजनन अनुसन्धान केन्द्रको भ्रमणमा जानेछन् भने सिचुआन विश्वविद्यालयको विपत्पछिको पुनर्निर्माण व्यवस्थापन संकायसँग छलफल र अन्तरक्रिया गर्नेछन् । सोहीदिन उनीहरू छेन्दु सहरको अवलोकन गर्नेछन् ।
उनीहरू बिहीबार झेज्याङ प्रान्तको राजधानी हाङझाओ जाने कार्यक्रम छ । शुक्रबार उनीहरूले त्यहाँ रोबोटिक्स उत्पादनलगायत औद्योगिक कम्पनीहरूको भ्रमणमा जानेछन् । रोबोटिक्स प्रविधिमा काम गर्ने औद्योगिक कम्पनीको भ्रमण कार्यसूचीमा छ ।
यस्तै औद्योगिक पार्क तथा स्मार्ट उत्पादन केन्द्रहरूको अवलोकन हुनेछ । शनिबार उनीहरू उच्च गतिको रेलमार्फत यिउ जानेछन् भने यिउ अन्तर्राष्ट्रिय व्यापार केन्द्र र स्थानीय शासनको अवलोकन गर्नेछन् ।
सोही दिन उनीहरू चिन्ह्वा नगर जानेछन् । अर्को आइतवार उनीहरू झेज्याङ विश्वविद्यालयको भ्रमणमा जानेछन् । उनीहरू कृषि, संस्कृति र पर्यटनको एकीकृत विकासको नमुना अध्ययन गर्न अन्तर्राष्ट्रिय कृषि फार्मको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनीहरू नयाँ ऊर्जा सवारीसाधन उत्पादक कम्पनी लिपमोटरको भ्रमण गर्नेछन् ।
सोमवार नेपाल–चीन लगानी तथा व्यापार सहकार्य सम्मेलनमा उनीहरू सहभागी हुनेछन् । चिन्ह्वा नगरका मेयर तथा २० भन्दा बढी स्थानीय उद्यमीहरूसँग उनीहरूको अन्तरक्रिया हुनेछ । सोही दिन उनीहरू नेपाल–चीन लगानी सहकार्य परियोजनाका रूपमा रहेको होङ्सी सिमेन्ट उद्योगको भ्रमण तथा चिन्ह्वा अन्तर्राष्ट्रिय विद्यालयको अवलोकनमा जानेछन् ।
चीन यात्राको आठौँ दिन चीनको राजधानी बेइजिङ पुग्नेछन् । सोही दिन उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वसँग भेटघाट गर्ने भनिएको छ । सातजना स्थायी समिति सदस्यमध्ये एकजनासँग उनीहरूको भेटवार्ता हुने सम्भावना छ ।
यस्तै सोही दिन उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नेछन् । उनीहरूलाई नेता लिउले रात्रिभोज दिनेछन् ।
नेपाली प्रतिनिधिमण्डल सोही दिन चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास संग्रहालयको भ्रमणमा जानेछन् । सिपिसी केन्द्रीय पार्टी स्कुलका विज्ञहरूसँग विचार तथा अनुभव आदानप्रदान गर्नेछन् ।
९ मंसिरमा चिनियाँ केन्द्रीय नेतृत्वसँगका भेटघाट, पार्टी इतिहास संग्रहालयको भ्रमण तथा केन्द्रीय पार्टी स्कुलका थप विज्ञहरूसँगको अन्तरक्रियाका कार्यक्रममा सहभागी हुनेछन् । उनीहरू १० मंसिरमा बेइजिङबाट स्वदेश फर्किनेछन् ।


प्रतिक्रिया