काठमाण्डु– नेपाल प्रहरी र सशस्त्र प्रहरीमा फेरी एआईजीको दरबन्दी थप्ने खेल सुरु भएको छ । प्रहरीमा दुई जना एआईजीको दरबन्दी थप्ने निश्चित भइसकेको छ ।
अर्को हप्ता बस्ने मन्त्रिपरिषदको बैठकले एआईजीको दरबन्दी थपको निर्णय गर्नेछ । सशस्त्र प्रहरीमा पनि एक जना एआईजीको दरबन्दी थप्ने तयारी छ । सशस्त्र मुख्यायलयले एक जना एआईजीको दरबन्दी थपको लागी कागजी प्रक्रिया समेत अघि बढाइसकेको छ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकास हुने दिन नजिकै छ । अहिले एआईजी थप गरेर भावी महानिरिक्षक बनाउन समेत दरबन्दी थपको खेल भएको बताइएको छ ।
खनालले आगामी चैतमा सशस्त्र प्रहरीको महानिरीक्षकबाट अवकास पाउंदैछन् । उनि अवकासपछि राजदुत बन्न अहिलेदेखि नै लविङमा लागेको स्रोतको दावी छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनको सक्रियता निकै बढेको स्रोतको दावी छ । खनालका दुई जना साढु नै कांग्रेसका प्रभावशाली नेता छन् ।
यता नेपाल प्रहरीका महानिरीक्षक थापा पनि १९ वैशाख २०७९ मा अवकासमा जांदैछन् । थापासंगै उनका ब्याचका एआईजीहरु हरिबहादुर पाल,निरजबहादुर शाही र प्रधुम्न शाही पनि एकै दिन अवकासमा जानेछन् । त्यसपछि प्रहरीमा आईजीपीका दाबेदार पोखरेल र थापा दुई जना छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दुवै संगठनमा दरबन्दी थप्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो । त्यसका लागी उनका निकट रहेका आफन्तहरुको दौडधूप चर्को रहेको स्रोत बताउंछ । प्रहरीमा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि आफु निकट अधिकारीहरुलाई बढुवा गर्न दुई जना एआईजीको दरबन्दी थप गरेर विश्वराज पोखरेल र सहकुल बहादुर थापालाई एआईजीमा बढुवा गरेको थियो ।
देउवा नेतृत्वको सरकारले पनि आवश्यकतालाई भन्दा निकटलाई बढुवा गर्न दरबन्दी थप्ने तयारी गरेको हो । सुरक्षा निकायमा उच्च अधिकारीको दरबन्दी थप्ने र घटाउने काम हचुवाका भरमा हुंदै आएको छ । त्यसको चौतर्फी आलोचना हुने गरी पनि राजनीतिक नेतृत्वले त्यसलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न छोडेको छैन । त्यसैगरी प्रहरीकै अधिकारीहरुले पनि आफ्नो स्वार्थ मिल्दा आफै हस्तक्षेप निम्ताउने गरेका छन् ।
तत्कालिन गृहमन्त्री बामदेव गौतमको पालामा नेपाल प्रहरीमा एआईजीको संख्या विशेष पद सिर्जना गरेर १४ पुर्याइएको थियो भने पछि देउवा प्रधानमन्त्री हुंदा १६ पुर्याइएको थियो ।
नेपाल प्रहरीमा थापापछिको आईजीपीको लागी वरियतालाई आधार मान्ने हो भने पोखरेल निर्विकल्प उम्मेदवार हुन । किनकी उनको बढुवा भएको गत मंसिर २५ गते हो । उनिपछि एआईजीमा बढुवा भएका थापाको बढुवा गत असार २४ गते मात्र भएको हो । यस हिसावले पनि थापा नै आईजिपीका स्वभाविक हकदार हुन । तर, प्रहरीमा उनलाई रोक्न फेरी दरबन्दी बढाउने चलेखल भने जारी नै छ ।
अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रमुख रहेका डिआईजी धिरज प्रताप सिंह र उत्तम सुवेदीलाई बढुवा गर्न एआईजीको दरबन्दी थप हुन लागेको हो । अर्थमन्त्री जनार्दन शर्मामार्फत अर्को दरबन्दी थपेर एआईजी हुने दाउंमा डीआईजी रविन्द्र धानकु समेत लागेका छन् । तर,उनको सम्भावना भने कम रहेको बताइन्छ । पोखरेल,थापा,सुवेदी र सिंह चारै जना एकै ब्याचका हुन । पोखरेललाई रोक्न एआईजी दरबन्दीको गृहकार्य भइरहेको स्रोतका दावी छ ।
यता,सशस्त्र प्रहरीमा पनि व्यक्तिलाई हेरेर एआईजीको दरबन्दी थप्ने तयारी छ । आगामी माघ २७ मा डीआईजीको पांच वर्षे पदावधिका कारण अवकासमा जान लागेका डीआईजीहरु खड्ग राई र मन्दीप श्रेष्ठलाई एआईजीमा बढुवा गर्नको लागी दरबन्दी थपको तयारी भएको हो ।
त्यसका लागी अहिले उनिहरुले कांग्रेसका नेताहरु र शक्तिकेन्द्रमा लविङ गरिरहेका छन् । खनालको अवकासपछि एआईजी पुष्पराम केसी दुई हप्ता संगठनको महानिरिक्षक बन्नेछन् । त्यसपछि अहिलेकै अवस्थमा डिआईजीमा पहिलो नम्बरमा रहेका राजु अर्याल र दोस्रो नम्बरमा रहेका नारायणदत्त पौडेलमध्ये एक जना सिधै सशस्त्र प्रहरी महानिरीक्षक बन्नेछन् । यदी दरबन्दी थप भएको अवस्थामा राई र श्रेष्ठमध्ये एक जना सशस्त्रको प्रमुख बन्ने सम्भावना छ । त्यसैलाई मध्यनजर गरेर अहिले दरबन्दी थपको खेल सुरु भएको हो ।
सशस्त्र र नेपाल प्रहरीमा आवश्यकतालाई ध्यानमा राखेर भन्दा व्यक्तिलाई हेरेर दरबन्दी थप गर्दा त्यसले संगठनलाई कमजोर बनाउने र संगठनभित्र थप राजनीतिक हस्तक्षेप बढ्ने देखिन्छ । तर, संगठन भित्रकै उच्च अधिकारी आफु बन्न नेताको घरदैलो धाउने क्रम भने जारी छ ।




प्रतिक्रिया