ओमीक्रोनको डरले श्रीमती र छोराछोरीको हत्या गरी आफूले गरे आत्महत्या

ओमीक्रोनको डरले श्रीमती र छोराछोरीको हत्या गरी आफूले गरे आत्महत्या


काठमाण्डु – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको डरले भारतका एक डाक्टरले आफ्ना परिवारको हत्या गरी आफूले आत्महत्या गरेका छन् । भारत उत्तर प्रदेशको कानपुर निवासी डा.सुशिल सिंहको शव आज फेला परेको हो ।

ती डाक्टरले डिसेम्बर ३ मा आफ्ना २ बच्चा र श्रीमतीको हत्या गरेका थिए । बच्चा र श्रीमतीको हत्या गरी फरार भएका डा.सुशिलको शव आज कानपुरको जाजमऊस्थित सिद्धनाथ घाटमा फेला परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले परिवारको हत्या गरी आफूले आत्महत्या गरेको आशंका गरिएको छ । डा.सुशिलको परिवार इन्दिरा नगरको डिवनिटी अपार्टमेन्टमा बस्दै आएको थियो । परिवारको हत्या गरेपछि उनले आफ्ना भाइलाई म्यासेज गरी आफूले घटना घटाएकाले प्रहरी बोलाउन भनेका थिए ।

उनका भाइ घटनास्थलमा पुग्दा डा. सुशिल फरार भइसकेका थिए । उनले टाउकोमा गह्रौ वस्तुले प्रहार गरी हत्या गरेको पाइएको थियो ।त्यसपछि प्रहरीले ती डाक्टरको व्यापक खोजी गरेको थियो । उनको फोनको अन्तिम लोकेशन अटल घाट गंगा बैराजमा देखिएको थियो त्यसपछि कतै कुनै लोकेशन फेला परेको थिएन । घटनास्थलबाट प्रहरीले उनले लेखेको डायरी फेला पारेको थियो ।

डायरीमा यस्तो लेखिएको थियो :

अब अरु कोभिड हैन ओमीक्रोन आएको छ । यो ओमीक्रोनले सबैलाई मार्नेछ । शवहरुको गन्ती गरिसाध्य हुने छैन। म करियरका कारण यसमा फसिसकेको छु । अब यहाँबाट निस्कन सम्झव छैन । मेरो कुनै भविष्य छैन । मैले जानी–जानी मेरो परिवारलाई सिध्याएर आफैँलाई पनि सिध्याउँदै छु । यसमा कसैको दोष छैन ।