काठमाण्डु – नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली सेनाका विविध गतिविधिहरूलाई फोटोहरूको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले सेनाले प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
गत वर्षदेखि नेपाली सेनाले आन्तरिक रुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेको थियो । यस वर्षबाट भने प्रतियोगितामा गैरसैनिक व्यक्तिहरूलाई समेत समावेश गराइने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन आवश्यक फोटो तथा विवरणहरू गैरसैनिक व्यक्तिको हकमा माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेज भित्र रहेको लिङ्कमा अपलोड गर्नुपर्नेछ । प्रतियोगितामा २०७७ देखि २०७८ सम्म खिचिएका तस्वीरहरूलाई मात्र समावेश गरिने नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोहरूलाई क्रमश नगद ५० हजार, ३५ हजार र २५ हजार तथा प्रमाणपत्र प्रदान गरिने छ ।




प्रतिक्रिया