स्थानिय तहका कर्मचारीहरुको सरुवा अनिश्चितकालका लागि स्थगित

स्थानिय तहका कर्मचारीहरुको सरुवा अनिश्चितकालका लागि स्थगित


काठमाण्डु – सरकारले स्थानिय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले पछि फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको जानकारी दिएको छ ।

संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने नरोकिएको मन्त्रालयले जनाएको छ ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।