कानुन संशोधन नहुँदा नागरिकता विहीन हुनेको संख्या बढ्दो

कानुन संशोधन नहुँदा नागरिकता विहीन हुनेको संख्या बढ्दो


काठमाण्डु – राज्य विहीनतासम्बन्धी संयुक्त महासन्धिको अनुमोदन गर्न जोड दिइएको छ । महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको राज्य विहीनतासम्बन्धी संयुक्त महासन्धिको अनुमोदनको आवश्यकता विषयक छलफल कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।

यससम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर वर्षाै बितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको सङ्ख्या बढ्न थालेको सहभागिहरुले बताएका छन् ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपनी अझैसम्म विधेयक पारित नहुँदा नागरिकहरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । कार्यक्रममा प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने सुनिश्चित गरिए पनि ऐन संशोधन नहुँदा कार्यान्वयन हुन नसकेको बताए ।

‘आमाका नाममा छोराछोरीलाई नागरिकता दिँदा भाञ्जाभाञ्जीले पनि नागरिकता पाउँछन् भन्ने डरले यस्तो व्यवस्था गरिनु न्यायोचित छैन, जन्मदर्ता र कोरोनाको खोप लगाउनसमेत नागरिकता चाहिने व्यवस्था छ, तर नागरिकता पाउन नसक्दा धेरैले राज्यविहीन भएर बाँच्नु परेको छ’, उनले भने ।

देवानी र फौजदारी संहितामा केही विभेदकारी प्रावधान रहेकाले संशोधनको तयारीमा समिति लागेको जानकारी सभापति पोखरेलले गराए । यस्तै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यालयमा नागरिकता पाउन नसकेको सम्बन्धमा दैनिक पाँचवटा मुद्दा आउने गरेको बताइन् ।

राज्यविहीनताको समस्या जटिल बन्दै गएकाले संसदीय समितिले समाधानका लागि छिटो पहल गर्नुपर्नेमा उनले जोड दिइन् । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले बाबु नभएकै कारण लाखौँ बालबालिकाको जन्मदर्ता हुन नसकेको बताइन् ।

आयोगले प्रकाशन गर्न लागेको बाल अधिकारसम्बन्धी प्रतिवेदनमा यस्तो रहस्य खुलेको उनको भनाइ छ । महिला लगायतलाई विभेद् गरिएको देवानीसंहिता छिटोभन्दा छिटो संशोधन गर्ने गरी पहल गर्न उनले मानव अधिकार समितिका सभापति पोखरेललाई आग्रह गरिन् ।

मञ्चका अध्यक्ष गीता अर्याल, कार्यकारी निर्देशक सविन श्रेष्ठ, अधिवक्ता नवीनकुमार श्रेष्ठलगायतले विभिन्न कारण नागरिकता नपाई राज्यविहीन भएकामा आत्महत्याका घटना बढेकाले छिटो समस्या समाधानको पहल गरिदिन माग गरेका थिए ।

नेपालगञ्ज र काठमाण्डुमा एक÷एक जनाले नागरिकता नपाएकै कारण आत्महत्या गरेको मञ्चले जनाएको छ । नागरिकता नहुँदा बैंक खाता खोल्न नपाउने, सिमकार्ड नपाउने, रोजगारी नपाउने भएकाले युवामा तनाव भई आत्महत्या गर्ने दुस्साहस गर्ने क्रम बढेकाले पनि समस्या समाधानमा छिटो पहल गरिनुपर्नेमा उनीहरुको जोड थियो ।

आमाका नाममा नागरिकता पाउने संवैधानिक व्यवस्था भए पनि ऐन संशोधन नभएकाले कार्यान्वयनमा असहजता आएको छ । सर्वोच्च अदालतमा मुद्दा दायर गरेर फैसला भएकाले मात्र आमाको नाममा नागरिकता पाएका छन् । यसरी पाइएको नागरिकताको तल नोट भन्ने उल्लेख गरी अदालतको निर्णय अनुसार नागरिकता दिइएको वाक्यांश मितिसहित लेखिनुले पनि नागरिकको अपमान भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।