काठमाण्डु – २०७५ साल फागुन २४ गते शान्तिपूर्ण राजनीतिमा आएको डा. सिके राउत नेतृत्वको जनमत पार्टी पछिल्लो समय अराजक बन्दै गएको छ । छुट्टै मधेसको माग राख्दै आएको जनमत पार्टीले सिरहामा किसानका विभिन्न मुद्दा देखाउँदै अराजकता प्रस्तुत गरेको हो ।
नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा अोलीले हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका राउतलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संज्ञा दिँदै आफ्नो कार्यकाललाई उपलब्धीपूर्ण मानेका थिए । तर, तीन वर्ष पनि बित्न नपाउँदै राउतको नेतृत्वमा जनमत पार्टी प्रदेश नम्बर २ मा अराजक रुपमा प्रस्तुत हुन थालेको हो ।
जनमत पार्टीले सिरहामा विगत केही दिनदेखि आमहड्ताल जारी राखेको छ । सिरहाको औरही गाउँपालिकाको गोदाममा राखिएको गहुँको बिउ लुटेको आरोपमा प्रहरीले एक जना किसानलाई पक्राउ गरेपछि उक्त आन्दोलनको नेतृत्व राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको छ । एक सय बोरा गहुँ चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीय किसान कारिराम यादवलाई मात्र पक्राउ गरेको छ । गाउँपालिकाले प्रहरीमा निवेदन दिएपछि यादवलाई पक्राउ गरेको हो ।
कर्मचारीले वितरणमा ढिलाई र बद्मासी गरेको भन्दै मंगलबार औरही गाउँपालिका ३ का किसानले बाँड्न राखेको १०० बोरा गहुँको बिउ आफैं झिकेर लगेका थिए । गहुँ छर्ने समय भइसक्दा पनि बिउ नपाएको भन्दै किसान रुष्ट थिए । किसान पक्राउको विरोधमा आक्रोशित स्थानीयले सिरहामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । आमहड्तालमा सवारी सञ्चालन गरेको भन्दै सिके राउतका कार्यकर्ताहरुले सवारी साधनमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रहरीले बन्द खुलाउन प्रयास जारी राखेपनि जनमत पार्टीका कार्यकर्ताहरु थप अराजक बन्दै गएका छन् ।
सोमबार डा.राउतले आन्दोलनको उल्लंघन गर्ने र दादागिरी देखाउनेलाई कारबाही गर्ने चेतावनी दिए । उनले विज्ञप्तिमा क्षतिपूर्तीको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रहरी र प्रशासनले लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् भनिएको छ, ‘यति हुँदाहुँदै पनि गाडी चलाएर आन्दोलन उल्लंघन गर्ने र दादागिरी देखाउने हो भने कारबाही हुन्छ नै । मारुती सिमेन्टको ट्रक चलाउनु कुनै अत्यावश्यक साधन भित्र पर्दैन । क्षतिपूर्तीको सम्पूर्ण जिम्मेबारी त्यहाँको स्थानीय प्रहरी र प्रशासन को हो, जसले जबरजस्ती हाम्रो आन्दोलन उल्लंघन गर्न लगाए, बिहानैबिहान दर्जनौं राउन्ड अश्रुग्यासँ फायरिंग गरे र दर्जनौं प्रहरीले घेरर निहत्था निर्दोष जनतालाई मरणासन्न हुनेगरी कुटे ।’
राउतले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, जनता समाजवादी पार्टीहरुतर्फ संकेत गर्दै प्लेन अपहरण, टाउको काट्दै हिँड्ने, १७ हजार मान्छे मार्ने, ५ महिना नाकाबंदी गरेर पूरा मधेश तहसनहस बनाउने, दर्जनका दर्जन गाडीमा आगो लगाउने, गौरनरसंहार गरी २७ जनाको निर्मम हत्या गर्ने, दर्जनौं प्रहरी चौकीमा आगो लगाउनेहरूले किसानहरूलाई प्रवचन नदिन चेतावनी दिए ।
‘कसैले प्रवचन दिई राख्नु पर्दैन – तोप पड्काएर हजारौं मान्छे मार्ने र प्लेन अपहरण गर्ने, टाउको काट्दै हिँड्ने, १७,००० मार्ने, ५ महिना नाकाबंदी गरेर पूरा मधेश तहसनहस बनाउने, दर्जनका दर्जन गाडीमा आगो लगाउने, गौरनरसंहार गरी २७ जनाको निर्मम हत्या गर्ने, नाकाबंदीमा आफू तेलबेच्ने र जनताले तेल ल्याउँदा जिउँदै मान्छेलाई पेट्रोल छरेर आगो लगाएर मार्ने, प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने, दर्जनौं प्रहरी चौकीमा आगो लगाउनेहरूले किसानहरूलाई प्रवचन दिइराख्नु पर्दैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले किसानका दिर्घकालिन समस्या समाधानको माग गर्दै आन्दोलन जारी राखेका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैया लगायतका क्षेत्रमा आन्दोलन जारी राखेका छन् ।
बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौँ गाडी तोडफोड गरेका छन् भने झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले राउतको आन्दोलनले सवारी साधनलाई कुनै असर नगरेको दाबी गरेको छ । राउतले अहिले मन्त्रीसँग मात्रै वार्ता गर्ने अडान लिएका छन् । जिल्ला प्रशासन कार्यालयले वार्ताका लागि पटक–पटक आह्वान गरेपनि राउतले प्रदेश नम्बर दुईका मन्त्रीसँग मात्रै वार्ता गर्ने अडान लिएको स्रोतले जानकारी दियो ।
सिरहा प्रशासन स्रोतले भन्यो, ‘हामीले उहाँहरुका असन्तुष्टी वार्ताका माध्यमबाट राख्न पटकपटक आग्रह गरिरहेका छौं । तर, उहाँ मन्त्रीसँग मात्र वार्ता गर्छु भन्नुहुन्छ । हामीले हिंसात्मक गतिविधि हुन नदिन आवश्यक सतर्कता अपनाएका छौं ।’
शान्तिपूर्ण राजनीतिमा आउनुअगाडि राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए । मधेसलाई राज्यले दमन गरेको भन्दै उनले मधेसमा छुट्टै सेना हुनुपर्ने समेत बताउँदै आएका थिए । शान्तिपूर्ण राजनीतिमा आएका राउतले आफूहरु बुद्धका सन्तान भएको भन्दै अहिंसा शरीरभित्र अन्तरनिहित रहेको बताएका थिए, ‘बुद्ध र गाान्धीलाई आत्मसात गर्यौं ।’
किसानका मुद्दामाथि राजनीति
सिके राउतले किसानका मुद्दा जोडतोडका साथ उठाइरहेका छन् । सामाजिक सञ्जालमार्फत राउतले मलखाद, बीउबिजन अभावको, उखु किसानहरूको भुक्तानी, निशुल्क कृषि विद्युत आपूर्ति, हावाहुरी र वर्षाका कारण क्षति भएका बालीनाली वापत् क्षतिपूर्ती, बाली वीमा स्वतः हुने प्रावधान कायम गर्दै बाली क्षति भएमा क्षतिपूर्ती र पक्राउ परेका किसानको रिहाईको मुद्दा उठाउँदै किसानहरुलाई जागरुक बनाउँदै आएका छन् ।
जनमत पार्टीले आन्दोलनलाई व्यापक बनाउन कोष नै खडा गरेको छ । पार्टीले दीर्घकालीन् वृहत् आन्दोलनतिर जाने देखिएकोले ‘आन्दोलन तथा निर्वाचन’ कोष खडा गरेको हो ।
पार्टीका महासचिव चन्दन सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन र निर्वाचनका लागि पैसाको जरुरी पर्ने देखिएकाले सहयोग गर्न नागरिकसँग आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आउँदो निर्वाचनमा विजय हासिल गरी जनता राज स्थापित गर्न र घर–घर राजगारी दिनका लागि निःसन्देश रुपमा पैसाको जरुरी हुने भएकाले सो आर्थिक व्यवस्थापनका लागि ‘आन्दोलन तथा निर्वाचन कोष’ खडा गर्ने निर्णय भए अनुरुप त्यस कोषमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनु हुनका लागि समस्त जनतासँग हार्दिक अनुरोध गर्दछौं ।’




प्रतिक्रिया