‘फ्रान्सेली क्रान्ति’ को उदाहरण दिँदै एसपी पाण्डेलाई सिके राउतको धम्की, प्रहरी हेडक्वाटर भन्छ- सामान्य हो

‘फ्रान्सेली क्रान्ति’ को उदाहरण दिँदै एसपी पाण्डेलाई सिके राउतको धम्की, प्रहरी हेडक्वाटर भन्छ- सामान्य हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमत पार्टीका प्रमुख सिके राउतले नेपाल प्रहरीका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने चेतावनी दिएका छन् ।

आज मंगलबार सिरहामा आमहड्ताल आह्वान गरेको जनमत पार्टीका प्रमुख राउतको सचिवालयले आधिकारिक फेसबुक पेजमार्फत सिरहा प्रहरी प्रमुख एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो ।

मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको हो ।

‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ,’ सिके राउतको आधिकारिक फेसबुक पेजमा भनिएको छ ।

‘२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला,’ उनले चेतावनी दिँदै भनेका छन् ।

जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा झडपको सम्भावना समेत बढेको छ ।

जनमत पार्टीले सिरहामा विगत केही दिनदेखि आमहड्ताल जारी राखेको छ । सिरहाको औरही गाउँपालिकाको गोदाममा राखिएको गहुँको बिउ लुटेको आरोपमा प्रहरीले एक जना किसानलाई पक्राउ गरेपछि उक्त आन्दोलनको नेतृत्व राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको छ ।

एक सय बोरा गहुँ चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीय किसान कारिराम यादवलाई मात्र पक्राउ गरेको छ ।गाउँपालिकाले प्रहरीमा निवेदन दिएपछि यादवलाई पक्राउ गरेको हो ।

कर्मचारीले वितरणमा ढिलाई र बद्मासी गरेको भन्दै गत मंगलबार औरही गाउँपालिका ३ का किसानले बाँड्न राखेको १०० बोरा गहुँको बिउ आफैं झिकेर लगेका थिए । गहुँ छर्ने समय भइसक्दा पनि बिउ नपाएको भन्दै किसान रुष्ट थिए । किसान पक्राउको विरोधमा आक्रोशित स्थानीयले सिरहामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् ।

आमहड्तालमा सवारी सञ्चालन गरेको भन्दै सिके राउतका कार्यकर्ताहरुले सवारी साधनमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रहरीले बन्द खुलाउन प्रयास जारी राखेपनि जनमत पार्टीका कार्यकर्ताहरु थप अराजक बन्दै गएका छन् ।

सोमबार डा.राउतले आन्दोलनको उल्लंघन गर्ने र दादागिरी देखाउनेलाई कारबाही गर्ने चेतावनी दिए । उनले विज्ञप्तिमा क्षतिपूर्तीको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रहरी र प्रशासनले लिनुपर्ने बताएका छन् । तर त्यसको भोलिपल्टै पुनः डा सिके राउतले समाजिक सञ्जालमार्फत नेपाल प्रहरीलाई नै चेतावनीसहितको धम्की दिएको हो ।

यता प्रहरी प्रधान कार्यालयले भने यस धम्कीलाई सामान्य रुपमा लिएको जनाएकाे छ । ‘प्रजातान्त्रिक मुलुकमा यस्ता धम्की सामान्य हो,’ केन्द्रिय प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरले काठमाण्डुपाटीसँग भने ।