केन्द्रको निर्देशन विपरित कंचनपुर एमालेमा दुई प्यानल,अध्यक्षमा थापाको पल्ला भारी

केन्द्रको निर्देशन विपरित कंचनपुर एमालेमा दुई प्यानल,अध्यक्षमा थापाको पल्ला भारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर – नेकपा एमालेको कञ्चनपुर जिल्ला अधिवेशनमा दुई वटा प्यानल बनेका छन् । एमाले केन्द्र र प्रदेशको नीति विपरित कंचनपुरमा दुई वटा फरक फरक प्यानल बनेका हुन । सहमतिको लागी अन्तिम समयसम्म प्रयास भएपनि निष्कर्शमा नपुग्दा कंचनपुरमा निर्वाचन हुने भएको हो ।

नयां नेतृत्वका लागी निर्वतमान अध्यक्ष वीरबहादुर थापा र सचिव सुरेन्द्र विष्टबीच प्रतिस्पर्धा छ । अध्यक्षका अर्का दावेदार अशोक चन्दले भने अन्तिममा थापालाई समर्थन गरिसकेका छन् । उनि थापाको प्यानलबाट सचिवका उम्मेदवार छन् । थापा माओवादी पृष्ठभुमिका हुन भने चन्द एमालेको युवाको राजनीतिबाट पार्टी नेतृत्वमा स्थापित भएका नेता हुन । उनी हाल बेतकोट नगरपालिकाको मेयर छन् । चन्दले मेयरका रुपमा कंचनपुरमा सबैभन्दा राम्रो काम गरेको चर्चा छ।

थापाको पक्षमा बहुमत जिल्ला कमिटी देखिएको छ । निर्वाचनमा उनको पल्ला भारी देखिएको एमालेका एक नेताले बताए । अहिले दुई बजेपछि मतदान सुरु गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गर्दैछ ।

सहमितका लागी प्रदेश इन्चार्ज लेखराज भट्टले अन्तिम समयसम्म कोशिस गरेका थिए । तर, जिल्ला इन्चार्ज निरु पालले विष्टलाई अध्यक्षमा अघि बढाएपछि कंचनपुरमा समस्या भएको हो । केन्द्र र प्रदेशले सहमति नजुटेपनि प्यानल नबनाउन सर्कुलर नै जारी गरेपनि कंचनपुरमा भने त्यो लागु भएको छैन ।

कंचनपुरमा थापाको प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोक चन्द, उपसचिवमा ईश्वरा कुंवर र शेरबहादुर चन्द उम्मेदवार छन्। त्यसैगरी विष्टको प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ ।

सचिवका उम्मेदवार चन्द बेतकोट नगरपालिकाका मेयर हुन भने अर्का उम्मेदवार भट्ट बेलौरी नगरपालिकाको निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

अध्यक्ष थापा चन्द प्यानलको पक्षमा युवा र विद्यार्थीको जिल्ला कमिटी नै देखिएको छ । निर्वतमान अध्यक्ष थापाले एमालेको शाख जोगाउन महत्वपूर्ण भूमिका खेलेको साथ दिएको अनेरास्ववियूका जिल्ला अध्यक्ष कमल रोकायाले बताए ।

‘पार्टी अपठ्यारोमा परेको बेला उहांले पार्टी निर्माणमा भूमिका खेल्नु भयो,त्यसैले उहांलाई हामी युवा विद्यार्थीले समर्थन गर्ने निर्णय गरेका हौं । ’ रोकायाले भने ।

एमाले सचिवका उम्मेदवार चन्दले पार्टी विभाजन हुंदा समेत थापा एमालेकै पक्षमा रहेर पार्टी निर्माणमा लागेकाले आफुले साथ दिएको बताए । उनले पार्टीलाई समस्या पर्दा उहांले नै कांध थापेकाले आफुले समर्थन गरेको दावी गरे ।