काठमाण्डु –उचारका क्रममा सुत्केरीको मृत्यु भएपछि बिरामीका आफन्तहरुले त्रिशुली अस्पतालमा तोडफोड गरेका छन् । उनिहरुले अस्पतालमा तोडफोड गर्नुकासाथै डिउटीमा खटिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि आक्रमणको प्रयाससमेत गरेका छन् ।
विदुर नगरपालिका ७ की एक २७ वर्षीया महिलाको सुत्केरी भईसकेपछि अत्याधिक रक्तश्राव भई गएराती मृत्यु भएको थियो । तर, मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् । तोडफोडका कारण अस्पतालको झ्याल, ढोका, ओपिडी, फार्मेसीमा क्षति पुगेको अस्पतालका मेसु डा. दिपेन्द्र पाण्डेले बताए ।
आकस्मिक बाहेकका सबै सेवा बन्द
अस्पताल तोफोड भएपछि अहिले अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । तर, भर्ना भएका र आइसियुमा रहेका बिरामीहरुको भने उपचार जारी रहेको रहेको डा. पाण्डेले बताए । उनले भने, ‘विरोध गरेर ओपिडी बन्द गरेको भन्दापनि अहिले ओपिडीमा जानसक्ने अवस्था नै छैन । सबैतिर तोडफोड छ । यस्तो भताभुङ्ग अवस्थामा डाक्टरले कसरी बिरामी जाँच गर्न सक्छ ? ’
साथै यो घटनाले स्वास्थ्यकर्मीको मनोबल घटेको डा. पाण्डेको भनाइ छ ।
‘कोही पनि डाक्टरले बिरामी मरोस भन्ने चाहदैन, हरेक डाक्टरले लागेर पुगेसम्म बिरामीलाई बचाउने प्रयत्न गरिरहन्छ । उहाँलाई पनि नर्मल रुपमा डेलिभरी गराउँदै थियौँ । तर एक्कासी रक्तश्राव भयो । यस्तो केशलाई चिकित्कसीय भाषामा पोष्टपार्टम हेमोरेज भनिन्छ । हामीले ज्यान जोगाउनका लागि अथक प्रयाश गर्यौँ तर जोगाउन सकेनौँ, हामीसंग भएका दुवै जना प्रसूति तथा स्त्री रोग विशेषज्ञ खटिनुभएको थियो,’ उनले भने, ‘उहाँहरुको सपोर्टमा एनेस्थेसियोलोजिष्ट र अरु डाक्टरहरु पनि लाग्नुभएको थियो तर सफल भएन , हामीले मेहनेत गर्दागर्दै बाहीर भने डाक्टरको लापरवाहीले गर्दा मुत्यु भयो भनेर खवर पुगेछ एकै छिनमा सय, डेढसय जना आएर तोडफोडमा उत्रिनुभयो हामी माथी पनि आक्रमणको प्रयास भयो । हामी लुकेर ज्यान जोगाएका हौँ । रातभर अनिदो अवस्थामा हामीले आज कसरी काम गर्न सक्छौँ ?’
अहिले अस्पतालमा ४४ जना बिरामी भर्ना गरिएको छ भने ४ जनाको आइसियुमा उपचार भइरहेको छ । ति बाहेक ओपिडी सेवा बन्द छ ।
सिसि टिभी फुटेज प्रहरीलाई दिने तयारी
अस्पताल प्रसासनले घटनाको विवरण सहित सिसि टिभी फुटेज प्रहरीलाई दिने तयारी गरेको छ । डा. पाण्डेका अनुसार जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसंग केही बेरमा छलफल हुन लागेको छ । त्यसलगतै फुटेज प्रहरीलाई दिने उनले बताए । घटनामा संलग्न दोषीलाई कारवाही हुनुपर्ने डा.पाण्डेको माग छ । मृतकको शव आफन्तले लगेको र नवजात शिशुलाई थप उपचारको लागि काठमाण्डु रिफर गरिएको डा.पाण्डेले बताए ।




प्रतिक्रिया