डा लोहनीलाई रोक्न वीर अस्पतालका कर्मचारी आन्दोलनमा

डा लोहनीलाई रोक्न वीर अस्पतालका कर्मचारी आन्दोलनमा


काठमाण्डु – कोभिड युनिफाइड (वीर अस्पताल)का कर्मचारीहरु प्रशासकीय प्रमुखको सरुवाविरुद्ध विरोधमा उत्रिएका छन् । सरकारले पटकपटक पदाधिकारी परिवर्तन गरेको भन्दै कर्मचारीहरुले वीर अस्पताल अगाडी प्लेकार्ड सहित पदर्शन गरेका छन् ।

सरकारले हिजो मात्र डा. गुणराज लोहनीलाई वीर अस्पतालको प्रशासकीय प्रमुखको जिम्मेवारी दिएको छ । वीरका कर्मचारीले डा . लोहनीको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका छन् । ५ महिनामात्र जागिर अवधि रहेका लोहनीलाई वीर अस्पतालमा ल्याउँदा अस्पतालको विकास नै नहुने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए ।

उनले भने, ‘अवकाश लिन ५ महिना मात्र बाँकी रहेका व्यक्तिलाई वीरमा पठाउदा उसले के काम गर्न सक्छ हाम्रो स्पष्ट माग भनेको दिर्घकालीन सोच राख्न सक्ने व्यक्ति यहा पठाइयोस् ।’

पटक–पटक प्रमुख फेरिँदा कसैको हित नभएको उनको तर्क छ । वीर अस्पतालको विकास हेर्न नचाहनेहरुले चलखेल सुरु गरेको उनले आरोप लगाए । १२ औं तहमा बढुवा हुने बित्तिकै मन्त्रालयले वीरमा पठाउन खोज्दा नमानेका लोहनी अहिले अर्बौंको बजेट निकासा हुने बेलामा सरुवा लिएर आउनुमा नियत ठिक नभएको उनीहरुको आरोप छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलवारमात्र लोहनीलाई वीरको १२ औं तहको प्रशासकीय प्रमुखका सरुवा गरेका थिए । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा. भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।

अस्पताल सुधारको काम अघि बढिरहेका बेला आर्थिक चलखेलबाट सरुवा भएको उनीहरुको आरोप छ । प्रशासकीय प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीलाई हाजिर हुन नदिने उनिहरुको चेतावनी छ ।