प्रहरीको एआइजी बढुवामा भागबण्डा :धानुकलाई बढुवा नगर्न सत्तारुढ दलकै सांसदको दबाब

प्रहरीको एआइजी बढुवामा भागबण्डा :धानुकलाई बढुवा नगर्न सत्तारुढ दलकै सांसदको दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीमा एआइजीको बढुवामा बिबाद देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले डिआईजी रविन्द्र धानुकलाई बढुवा गर्नुपर्ने अडान लिएपछी प्रहरीको बढुवा रोकिने सम्भावना बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

जसअनुसार बढुवा समिति बसेर प्रक्रिया अघि बढाउनुपर्ने थियो । तर, बढुवा कसलाई गर्ने भन्नेमा सहमति नबन्दा प्रक्रिया अघि बढ्न नसकेको हो । आज बस्ने मन्त्रिपरिषदको बैठकले एआइजीको बढुवा गर्ने अपेक्षा गरिएको थियो ।

प्रहरीमा बढुवाका लागी बैशाखमा अवकास पाउने डिआईजीहरु समेत लविङमा छन् । तर उनिहरुभन्दा तल्लो ब्याचबाट बढुवा गर्ने सरकारको तयारी थियो । त्यसका लागी अर्थमन्त्री शर्मा र गृहमन्त्री बालकृष्ण खांडबीच अनौपचारिक सहमति समेत भइसकेको थियो । शर्माले आफु निकट डिआईजी धानुकको बढुवा नगरे दरबन्दी स्वीकृत नगर्ने अडान लिंदै आएका थिए । गृहमन्त्री खांड त्यसमा सहमत भएपछी दरबन्दी स्वीकृत भएको थियो । तर, अहिले धानुकको नाममा कांग्रेसभित्रै बिबाद बढेको छ ।

कांग्रेसका लुम्बिनी प्रदेशका सांसदहरु उनलाई बढुवा गर्न नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खांडलाई दबाव दिइरहेका छन् । जसले गर्दा उनिहरुलाई धानुकको बढुवा गर्न अफ्ठेरो भएको हो । गत वैशाख १९ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त गर्दा धानुकले आफूहरुमाथि बल प्रयोग गरेको उनीहरुको गुनासो छ।

त्यसेबला प्रदेश सांसदहरु पुर्मती ढेंगा, लौटी थारु, तारा जिसी, निर्मला क्षेत्रीसहितका सांसदले धानुकमाथि छानबिन गरी कारबाही गर्न निवेदन नै दिएका थिए । तर, त्यसमा कुनै सुनुवाई भने त्यतिबेला भएन । सांसदहरुमाथी धानकुले नै हातपात गरेको भिडियो त्यो बेला सार्वजनिक भएको थियो । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको आदेशमा आफुहरुमाथी आक्रमण भएको ती सांसदहरुको गुनासो छ ।

डीआईजी धानुक वरियतामा समेत पछाडी छन् । डिआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त कुमार पन्त, ईश्वरबाबु कार्की र सहकुलबहादुर थापा एकै दिन बढुवा भएका थिए । तिमध्ये थापा एकल एआईजीमा बढुवा भइसकेका छन् । पछिल्लो ब्याचबाट धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्र धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी एकसाथ बढुवा भएका थिए ।

सरकारले सिंह,सुवेदी र धानकुलाई एआइजी बनाउने तयारी गरेको थियो । तर, अन्तिममा धानुकको नाममा धेरै विरोध आएपछी लामा वा बिसीमध्ये एक जनालाई एआइजी बनाउने बारेमा छलफल भएको स्रोतको दावी छ ।

अघिल्लो वरीयताका चार जना डिआईजीहरु आईजीपी शैलेश थापाकै ब्याची हुन्। थप हुने तिनै दरबन्दीमा थापाकै व्याचका अधिकृतहरुको दावी छ । उनिहरु थापासंगै वैशाखमै अवकास पाउनेमा छन् ।

धानुक यसअघि काठमाण्डु प्रहरी प्रमुख हुंदा समेत बिबादमा आएका थिए । उनले तत्कालिन सरकारले कार्य सम्पादन मूल्यांकन कीर्ते गरेको आरोप लागेका तत्कालिन डीआईजी नवराज सिलवाललाई पक्राउ गरेर मुद्दा चलाउन सरकारले दिएको आदेश समेत उनले मानेका थिएनन । त्यसपछी उनलाई सरकारले समय नपुग्दै सरुवा गरेको थियो ।

उनि यसअघि प्रधानमन्त्री हुंदा देउवाकै पिएसओ समेत थिए । तर, काठमाण्डु प्रकरणपछी उनको सम्बन्ध भने चिसिएको थियो । धानुक शक्ति केन्द्रसंग सुमधुर बनाउन सिपालु अधिकृत मानिन्छन् ।