काठमाण्डु – संयुक्त राज्य अमेरिकाले नेपालमा एमसीसी परियोजना संसदबाट अनुमोदन हुन ढिलाई हुनुमा चीनको हात रहेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच महिनाभित्र एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गर्दै एमसीसी बोर्डलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सोही पत्रको सन्दर्भ उल्लेख गर्दै भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँगको कुराकानीमा ५० करोड डलरको एमसीसी परियोजना अनुमोदन नहुनुमा छिमेकी मुलुक चीनको चलखेल रहेको संंकेत गरेका हुन् ।
अमेरिकाले नेपालमा एमसीसी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाउन चीनले उकासेको, लगानी गरेको वा प्रोत्साहित गरेको आरोप पनि लगाएको छ । त्यस्तै उनले फागुन १६ भित्र संसदबाट एमीसीसी अनुमोदन नभए अमेरिका—नेपाल सम्बन्ध प्रभावित हुने समेत चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘एमसीसी सहयोग परियोजना संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम निर्णयको कुरा हो । तर यसले द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव पर्नेछ । बाह्य मुलुकको प्रभाव र भ्रष्टाचारका कारण नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन नसकेको हो भने त्यो अमेरिकाका लागि निकै दुःखदायी विषय हुनेछ । र नेपाली जनताका लागि यो क्षतिको विषय हुनेछ ।’
उनले फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदन गर्न नेपाललाई पत्रमार्फत अमेरिकाले आग्रह गरिसकेको पनि बताएका छन् ।




प्रतिक्रिया