एमसीसी विवाद : धरापमा गठबन्धन, कुन दलको के स्वार्थ ?

एमसीसी विवाद : धरापमा गठबन्धन, कुन दलको के स्वार्थ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ गठबन्धनभित्र एमसीसी संसदबाट पारित गर्ने विषयमा विवाद बढेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णायक छलफल गर्नको लागि गठबन्धनमा आवद्धदलहरु पछिल्लो समय लगातार छलफलमा जुटे पनि अझै सहमति हुन सकेको छैन् । सत्ता साझेदार दलहरु माओवादी केन्द्र र एकीकृत (समाजवादी) एमसीसी सम्झौता संशोधन नगरी पास गर्न सहयोग नगर्ने अडान कायमै राखेपछि नेपाली कांग्रेसका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्न थालेका छन् ।

नेपाली कांग्रेसका नेताहरु एमालेसँग छलफलमा जुटेसँगै एमसीसीको कारणले गठबन्धन फुट्ने संकेत पनि देखिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा पनि एमसीसी टेबुल हुन नसके पछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ । एमसीसीबारे निर्णायक छलफल गर्नको लागि गठबन्धनको बैठक शुक्रबार बोलाइको थियो ।

तर उक्त बैठकमा पनि गठबन्धनमा आवद्ध दलहरुबीच सहमति जुट्न सकेन । शुक्रबार बसेको बैठकमा पनि गठबन्धन दलहरुले आफ्नो अडान कायमै राखेका थिए । अब एमसीसीबारे निर्णायक छलफल गर्नको लागि गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार बिहान बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक पनि ८ गते नै बोलाइएको छ । तर, गठबन्धनमा फेरी पनि यो विषयमा सहमति हुने सम्भावना कम छ ।

कांग्रेस मात्र एमसीसीको पक्षमा

एमसीसी पास गर्ने पक्षमा गठबन्धन भित्र नेपाली कांग्रेस मात्र देखिएको छ । गठबन्धनमा आवद्ध अन्य दलहरुले भने आफूहरु सरकारबाट बाहिरिन तयार भएको तर संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने अडान कायमै राखेका छन् प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले आफू जसरी भए पनि एमसीसी टेबुल गरेर नै छोड्ने बताएका छन् । पछिल्लो समय संसद बैठकमा एसीसी टेबुल गर्ने देउवाको प्रयास असफल हुँदै आएको छ । स्रोतका अनुसार अमेरिकाको दवाव थेग्न नसकेर देउवा जसरी भए पनि एमसीसी पास गर्ने प्रयासमा लागेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन फुट्ने चेतावनी दिइसकेका छन् । देउवाले गठबन्धन फुटाएर नेकपा एमाले सँग एसीसी पास गर्न सहयोग माग्ने बताएका थिए । तर, पछिल्लो समय गठबन्धन दलहरुले एमसीसी पास गर्न सहयोग नगरे पनि देउवाले गठबन्धन फुटाउन भने सकेका छैनन् ।

स्रोतका अनुसार पाँच दलीय गठबन्धन तोडाउने तर एमसीसीमा मतदान नगर्ने नीति एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको भन्दै प्रधानमन्त्री देउवालाई त्यसप्रति सचेत रहन गठबन्धन कै नेताहरुले सुझाव दिएका छन । त्यति मात्र होइन माओवादी र समाजवादीले समर्थन फिर्ता लिने वित्तिकै सरकार अल्पमतमा पर्ने र संसदको ठुलो दलको हिसाबले राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने त्रास पनि देउवालाई दिइएको छ । त्यसकारण पनि देउवा तत्कालै अध्यक्ष ओलीको विश्वासमा पर्न सक्ने अवस्थामा छैनन् । उनले त्यसैमा आश्वस्त हुन खोजेको बताइन्छ ।

गठबन्धनबाट सरकार छाड्ने चेतावनी आउँदा समेत प्रधानमन्त्री देउवाले जबरजस्ती संसदमा एमसिसी टेबुल गर्ने आँट अहिले सम्म पनि गरेका छैनन् । प्रधानमन्त्री देउवा फागुन ४ गतेको संसद् बैठकमा एमसीसी टेबुल गर्नबाट पछि मात्र हटेनन्, शुक्रबारको बैठकमा पनि एमसीसी अघि बढाउन सकेनन् ।

स्रोतका अनुसार बिहीबार राति गठबन्धनको बैठक सकेर अध्यक्ष ओली निवास बालकोटमा पुगेका प्रधानमन्त्री देउवाले त्यहाँबाट पनि विश्वस्त आधार नपाए पछि शुक्रबारको संसद्को बैठकमा पनि एमसीसी टेबुल गर्न नसकेका हुन । प्रधानमन्त्री देउवा सभामुखले प्रस्ताव टेबल गर्न आनाकानी गरेकाले पनि त्यसको समेत विकल्प खोजेर मात्र अघि बढ्ने दाउमा छन् ।

चुनावपछि एमसीसी पास गर्ने प्रचण्ड – माधवको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने अडान कायमै राखेका छन् ।

स्रोतका अनुसार बाहिरि रुपमा यी दुबै अध्यक्षले आफ्ना अडान कायमै राखे पनि तिनै तहको चुनावमा गठबन्धन कायम राखे एमसीसी पास गर्ने प्रस्ताव प्रधानमन्त्री देउवासँग राखेका छन् । त्यसकारण देउवाले संसद बैठकमा एमसीसी टेबुल गर्न खोजे पनि अन्तिममा प्रचण्ड – माधव कै आग्रहमा उनको प्रयास सफल हुन सकेको छैन् ।

प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा संसदबाट जे निर्णय आए पनि स्विकार गर्ने बताएका छन् । तर प्रधानमन्त्री देउवालाई संसदमा एमसीसी टेबुल गर्न नदिने रणनीतिमा यी दुबै अध्यक्ष लागेका छन् । स्रोतका अनुसार एमसीसी पछि पास गर्ने भन्दै चुनावमा हालको गठबन्धन कायमै राख्ने प्रचण्ड माधवको स्वार्थ रहेको छ ।

त्यसकारण यी दुबै अध्यक्षले देउवाको एमसीसी टेबुल गर्ने रणनीति असफल पार्दै आएका छन् ।  प्रचण्डले एसीसीबारे टुंगो लगाउन प्रधानमन्त्री देउवासँग केही दिनको समय मागेका छन् । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका नेता लगायत कार्यकताहरु भने एमसीसीको विरोधमा उत्रिएका छन् । यद्यपी माधव नेपाल भने एमसीसीमा अरु नेताहरु भन्दा नरम छन् ।

एमसीसीको कारणले गठबन्ध फुटाउने दाउमा एमाले 

यता नेकपा एमाले भने हाल एमसीसीको बारेमा मौन बसेको छ । सरकारमा हुँदा एमसीसी पास गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सहयोग मागेको नेकपा एमाले भने आफू विपक्षीमा हुँदा मौन बसेको हो ।  नेकपा एमालेले एमसीसीलाई मुख्य एजेण्डा बनाएर हालको पाँच दलीय गठबन्धन फुटाउन चाहेको छ । यदी गठबन्धन फुटे एमसीसी पास गर्न सहयोग गर्ने नेकपा एमालेले जनाइ सकेको छ ।

बिहीबार राति गठबन्धनको बैठक सकेर अध्यक्ष ओली भेट्न बालकोटमा प्रधानमन्त्री देउवा पुगेका थिए । स्रोतका अनुसार उक्त भेट वार्तामा देउवाले एमसीसी पास गर्न सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए । तर,अध्यक्ष ओलीले हालको अवस्थामा एमसीसी पास गर्न सहयोग गर्न नसकिने बताएका थिए ।

पाँच दलीय गठबन्धन फुटे मात्र एमसीसी पास गर्न सहयोग गर्ने ओलीको भनाइ थियो । उसो त अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावसँग डराएर नेपाली कांग्रेसको पछि लाग्ने गरेको आरोप पनि लगाउँदै आएका छन् ।  ‘ नेपाली कांग्रेसले हामी चुनावमा एक्लै लड्छौ । चुनावमा गठबन्धन लिएर कुनै पनि हालतमा जाने छैनौँ भनेको छ तर केही फुच्चे दलहरु चुनावमा जान डराएर नेपाली कांग्रेसको पछि पछि लागेका छन् ।’ ओलीले केही समयअघि एक कार्यक्रममा भनेका थिए ।

एमसीसी पास नभए नेपाल सँगको कुटनीतिक सम्बन्ध नरहने अमेरकाको चेतावनी

पछिल्लो समय अमेरिकाले एमसीसी पास गर्न नेपाल सरकारलाई दबाव दिँदै आइरहेको छ । आफूले दिएको समय सीमा भित्र एमसीसी पास नभए फिर्ता लैजाने मात्र होइन कुटनीतिक सम्बन्ध समेत बिग्रने चेतावनी अमेरीकाले दिएको छ ।  पछिल्लो समय नेपालमा एमसीसीको विरोध भइरहेका बेला अमेरिकाले शुक्रबार आफू वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा राखेको पनि बताएको छ ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तर निहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्ति पूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाण्डुस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत अमेरिकाले भनेको छ ।

एमसीसीबारे नेपाललाई अमेरिकाले ‘कूटनीतिक धम्की’ दिन सुरु गरेको चिनको आरोप 

एमसीसीका विषयमा चीनले पनि मुख खोलेको छ । चीनले एमसीसी लाई लिएर अमेरिकाले नेपाल माथि बढाएको दबाब प्रति असन्तुष्टी जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने बताएको छ । चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको छ, यसमा चीनको धारणा के हो ?भनि पत्रकारले सोधेको प्रश्नमा उनले ‘दबाबपूर्ण कूटनीतिक’विरोध गरेका हुन । ‘चीनले नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले आफ्नो समाचारमा वाङको भनाई उद्वृत गरेको छ ।

उनले पत्रकार सम्मेलनमा नेपाललाई दिने विकास सहयोग निरन्तर जारी रहेन प्रतिबद्धता समेत जनाए ।  ‘छिमेकीमित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफै विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुने गरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ,’वाङले भनेका थिए ।