एनपीएलमा कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश

एनपीएलमा कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।

बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो । 

आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र  निरोशन डिकवेलाले १६ रन बनाए । बलिङतर्फ कर्णालीका लागि मार्क वाटले ४ तथा हुसेन तलत र पवन सर्राफले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो । कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले २/२ तथा शेर मल्लले १ विकेट लिए ।

लुम्बिनीसँगको हारपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । कर्णालीले ६ खेल खेल्दा ४ खेलमा हार र २ खेलमा मात्र जीत निकालेको छ । उसको ४ अंक मात्र छ । लुम्बिनी ६ खेलमा ४ खेलमा जीत र १ खेलमा हारसहित ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले १ खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।