काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पुरानै सत्ता उल्ट्याउन षड्यन्त्र भइरहेको बताएका छन् ।एमसीसी विवादले सत्ता गठबन्धन फुटको डिलमा पुगेका बेला सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले पुरानै सत्ता उल्ट्याउन क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’
संसदमा टेबल भइसकेको एमसीसी पास गर्ने विषयमा माओवादी र एकीकृत समाजवादीले संशोधनबिना कुनै पनि हालतमा पास गर्न सहयोग नगर्ने अडान राख्दै आएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने फेबुअरी १६ भित्र एमसीसी जसरी पनि संसदबाट पास गराउने तयारीमा छन् ।
त्यसका लागि प्रचण्ड र माधव नेपाल एमसीसीको विपक्षमा उभिएपछि देउवाले नयाँ सत्ता समीकरणको प्रयास गरिरहेका छन् । उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सत्ता सहकार्यका लागि भेटघाटलाई तीव्र बनाएका छन् ।
आजै बिहान प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणले खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका थिए । त्यसपछि देउवाले खाँणलाई आफ्ना दूत बनाएर ओली निवास बालकोट पठाएका थिए । देउवाले खुमलटार पुगेर प्रचण्डसँग् छलफल गरेको केहि समयपछि नै प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।




प्रतिक्रिया