प्रचण्ड, माधव र खनालबीच छलफल, एमसीसीको विपक्षमा उभिने सहमति

प्रचण्ड, माधव र खनालबीच छलफल, एमसीसीको विपक्षमा उभिने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने सहमति गरेका छन् ।

आज बिहान सिंहदरबारमा एमसीसीका विषयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो ।

सर्वत्र विरोधकाबीच गत आइतबार प्रतिनिधिसभामा टेबल भएको एमसीसीमाथि आजबाट सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि आज सिंहदरबारमा प्रचण्ड, माधव नेपाल र खनालबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

‘एमसीसीका विषयमा छलफल भयो । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको छ । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भयो । हामी एमसीसीको विपक्षमा एकतावद्ध भएर उभिन सहमत भयौं,’ छलफलपछि नेता खनालले भने ।

आजको संसद बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने कार्यसूची रहेको छ । गठबन्धनमै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले यसअघि नै एमसीसीका विपक्षमा उभिने निर्णय गरिसकेका छन् । तर, समाजवादीका केहि मन्त्रीहरुले एमसीसीको पक्षमा मतदान गर्ने बताउँदै आएका छन् ।

पार्टीको निर्णयविपरित मन्त्रीको अभिव्यक्ति आएपछि दुई पार्टी छलफलमा जुटेका हुन् । माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ । दुवै दलका जनवर्गीय सङ्गठनहरूले एमसीसीलाई राष्ट्रघाती भन्दै विरोध प्रदर्शन जारी राखेका छन् । तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहेका छन् ।

सत्तारुढ दुई दलले साथ नदिने देखिएपछि देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजिरहेका छन् । यता नेकपा एमालेले पनि एमसीसीमा साथ दिने नदिने स्पष्ट पारिसकेको छैन । एमालेले सभामुख अग्नि सापकोटाको बहिर्गमन र माधव नेपालको पार्टी खारेज गर्नुपर्ने आफ्ना माग पुरा भए एमसीसीमा साथ दिने शर्त अघि सारेको छ ।