काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान धनगढीबाट काठमाण्डु फर्केलगत्तै नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
देउवा र नेपालबीचको भेटसँगै एमसीसी संसदबाट अनुमोदन गराउन सत्ता गठबन्धभित्रै नयाँ विकल्पको खोजी सुरु भएको छ । सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउन नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन् ।
बिहीबार दुई पटकसम्म प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वार्ता गरेका देउवाले शुक्रबार बिहानैदेखि सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल अघि बढाएका हुन् । पार्टी कार्यक्रममा लागि बिहीबार सुदूरपश्चिम पुगेका नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि काठमाण्डु फर्किएका थिए ।
एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको समाजवादीका अध्यक्षसँगको वार्तापछि अहिले देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग संवाद गर्दैछन् ।




प्रतिक्रिया