काठमाण्डु – अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार पत्रकार सम्मेलन गरे । व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि माधव नेपाललगायतको भूमिकामा चौतर्फी प्रश्न उठ्यो ।
अघिल्लो दिनसम्म एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने, बरु गठबन्धन छाड्ने बताएका नेपाल पछि किन एमसीसी अनुमोदन गर्न सहमत भए भन्ने विषयमा प्रश्न उठेपछि त्यसलाई प्रस्ट पार्न उनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल एमसीसी अनुमोदनको विषयभन्दा पनि बढी एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बढी नै आक्रामक देखिए । उनले ओलीलाई दम्भी, अहंकारी मात्र भनेनन्, मानसिक सन्तुलन ठीक नभएको आरोपसमेत लगाए । नेपालले ओलीले गठबन्धन टुटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएपछि आफूहरू व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने अवस्थासम्म आइपुगेको टिप्पणी गरे ।
‘मुलुकभित्रका दलहरुबीच विवाद बिजारोपण गर्ने र जनतालाई समेत उत्तेजित पार्दै विभाजित गर्ने काम केपी नेतृत्वको सरकारबाट भयो । अतः राज्य सञ्चालनको जिम्मा पाएका केपी ओली जस्ता व्यक्तिहरुमा भएको व्यक्तिवादी, दम्भी, अहंकारी, आत्मसमर्पणवादी एवं षडयन्त्रकारी प्रवृत्तिले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई अहिलेको गठबन्धनले उपयुक्त निकास दिनुपर्ने बाध्यात्मक अवस्था बन्यो,’ नेता नेपालले जारी गरेको विज्ञप्तिको तेस्रो बुँदामा उल्लेख छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमसीसीलाई आईपीएसमा सहभागी गराउने कार्यमा केपी ओलीको मुख्य भूमिका रहेको नेपालले आरोप पनि लगाए । उनले अमेरिकी विदेश विभागले सन् २०१९ मा जारी गरेको अ फ्री एन्ड ओपन इन्डो-प्यासिफिक प्रतिवेदनमा एमसीसीलाई आफ्नो हिस्साका रूपमा उल्लेख गर्दै नेपाललाई त्यसको सदस्य राष्ट्रको सूचीमा राखेको उल्लेख गरेका छन् ।
‘तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमणमा तात्कालीन प्रधानमन्त्रीको अनुमतिमा एमसीसीमार्फत आईपीएसमा आबद्ध भएको भनेर विभिन्न सञ्चार माध्यमहरुमा आए पनि त्यसबारेमा नेपालका औपचारिक संस्थाहरुबाट कहींकतै विरोध वा निर्णय भएको देखिँदैन । विकास परियोजना भनेर ल्याइएको विषयलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सदनमा पुर्याउने काम भयो,’ नेपालले उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले ओलीलाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने नचिताउन पनि चेतावनी दिए । ‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ उनले भने, ‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने । सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो ।’
आलीको आक्रोश सभामुख सापकोटामाथि
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मंगलबार एमसीसीसँगै देशको समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरे । आजको पत्रकार सम्मेलनमा ओली माधव नेपाल भन्दा पनि सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रोशित बनेका देखिन्छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा महाअभियोग प्रस्ताव ल्याउने समेत दावी गरे ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने उनले चेतावनी दिएका हुन् । तर उनले आफ्नो पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेको भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गरे । ‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको ओलीको आरोप छ।
‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसद्लाई हामीले कारबाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन,’ ओलीले भने ।
एमालेले दुई साताअघि नै आफ्ना पार्टीका सांसदहरूलाई दुईवटा खाली कागजमा हस्ताक्षर गरेर राखेको छ । एमसीसी पारित गर्नुअघि नै सभामुख सापकोटाविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने आकलन गरिएको थियो । तर, सभामुख सापकोटाले एमसीसी प्रस्ताव टेबुल गर्न दिएपछि त्यो चर्चा त्यतिकै हराएको थियो ।




प्रतिक्रिया