काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप संसदमा उभिएको बताएका छन् । बुधबार ट्वीटरमार्फत उनले आफू पार्टीको सिद्धान्तअनुरूप गत आइतबारको संसद बैठकमा एमसीसीबारे छलफलमा भाग लिएको बताएका हुन् । आइतबार बसेको संसद बैठकमा नेकपा एमालेले नाराबाजी गरिरहँदा नेता रावलले भने एमसीसीबारे छलफलमा भाग लिएका थिए ।
नेकपा एमालेले संसद बैठकमा अवरुद्ध गरिरहेका बेला नेता रावलले एमसीसीबारे छलफलमा भाग लिएपछि मंगलबार अध्यक्ष केपी शर्मा ओलीले रावल पार्टी अनुशासनबाहिर गएर हिरो बन्न खोजेको प्रतिक्रिया दिएका थिए । अध्यक्ष ओलीलाई जवाफ दिँदै उनले संसद बैठकको छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भएको दाबी गरेका छन् ।
‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ । संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो। म पार्टी सिद्धान्त अनुरूप उभिएको छु ।’ , उनले ट्वीटमार्फत भनेका छन् ।
त्यसैगरी उनले जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोल्दा मन पोलेको भए पार्टी अध्यक्षले देशको पक्षमा बोलेर महाहिरो भएको भए आफू खुशी हुने बताएका छन् ।
‘ राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरूप संसदमा बोल्दा मैले हिरो हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर महाहिरो हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया । ’, उनले ट्वीटरमार्फत भनेका छन् ।




प्रतिक्रिया