काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता हेमराज अवस्थीले केहि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध उजुरी दिएका छन् । आफ्नो मृत्यु भएको भन्दै मिडिया र फेसबुकमा झुठो प्रचार गर्ने व्यक्ति विरुद्ध उनले प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोमा बुधबार उजुरी दिएका हुन् ।
उनले पूर्वसचिव भीम उपाध्यायसहित पत्रकार रवि लामिछाने, अलि त्रिपाठी समर्थक ग्रुप, हेमराज थापा सर्मथक ग्रुप, रामा ओली, आशिका तामाङ, शिक्षा, पावर थिङकिङ्ग, डेली नेपाल लगायतका ग्रुप सञ्चालक विरुद्ध ब्यूरोमा उजुरी दिएका छन् । नेता अवस्थीले सबैलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ र दफा ५३ बमोजिम कारबाहीसहित आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
एमसीसी सम्झौता विरुद्ध फागुन १२ गते विप्लव नेतृत्वको नेकपा सहित ६ दलीय गठबन्धनले गरेको नेपाल बन्दमा अवस्थीको गोली हानेर हत्या गरिएको भन्दै विभिन्न मिडयामा समाचार प्रकाशन भएका थिए । फेसबुकमा उनको मृत्यु भएको उल्लेख गरी सरकार विरुद्ध आक्रोश व्यक्त गरिएको थियो । प्रहरीको साइबर ब्युरोमा दिइएको जाहेरीमा अवस्थीले समाचार प्रकाशन प्रसारण गर्ने मिडियाको नामपनि उल्लेख गरेका छन् ।
उनले सामाजिक द्वैष फैलाउने गलत नियत राखेर प्रचार गरिएको दाबी सहित विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । सानैदेखि विद्यार्थी राजनीतिमा सक्रिय भीमदत्त नगरपालिका ६ का अवस्थी अखिल क्रान्तिकारीको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कमिटीका अध्यक्ष हुन् ।





प्रतिक्रिया