समाचार कक्षमै प्रहरी परिचालन गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दियो : कांग्रेस

समाचार कक्षमै प्रहरी परिचालन गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दियो : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गराई पत्रकारलाई पक्राउ तथा नियन्त्रणमा लिने घटनाप्रति आपत्ति जनाउँदै सरकारलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेको छ।

कांग्रेस सभापति गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकार तथा सञ्चारमाध्यममाथि प्रहरी हस्तक्षेप लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको बताएका हुन्र । उनले सञ्चारमाध्यममाथि हुने कुनै पनि उजुरी वा विवादको समाधान स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।

थापाले भनेका छन्, ‘स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो। यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन्।’

ती संयन्त्रलाई छलेर सञ्चारगृहमा प्रहरी परिचालन गर्नु कानुनी शासनको मर्मविपरीत हुने कांग्रेसको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (रुल अफ ल) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (रुल बाइ ल) तर्फ उन्मुख हुनु हो।’

कांग्रेसले पछिल्ला घटनामा पक्राउ तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएको छ। पार्टीले कानुनविपरीत पक्राउ तथा पत्रकारलाई गरिने ‘ह्यारेसमेण्ट’ तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ।

सभापति थापाले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्ने शैलीले विगतको निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ।’

सञ्चार क्षेत्रमाथि हुने हस्तक्षेपले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने भन्दै कांग्रेसले यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ। ‘विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ। आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो,’ थापाले भनेका छन्।

कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनका पक्षमा उभिँदै आएको उल्लेख गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि हुने दमनकारी गतिविधिको विरोध जारी राख्ने जनाएको छ।

पार्टीले सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चित गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर भएका कदम सच्याउन माग गरेको छ।