डीडीसीमा १२ करोड बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ

डीडीसीमा १२ करोड बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोडभन्दा बढी आर्थिक हानी पुर्‍याएको आरोपमा संस्थानका पूर्वमहानिर्देशक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधको आरोपमा झासहित डीडीसीका तत्कालीन तथा कार्यरत कर्मचारीलाई शुक्रबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा, चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय, हेटौँडा धुलो दूध कारखानाका जीतेन्द्रकुमार यादव, नवलपुर चिस्यान केन्द्रका नवीनराय यादव, माडी चिस्यान केन्द्रका शिवनन्दन राय र माडी चिस्यान केन्द्रका प्रमुख वीखबहादुर भण्डारी छन्।

सीआईबीका अनुसार पूर्वयोजना र आपसी मिलेमतोमा समूह बनाएर डीडीसीलाई १२ करोड १३ लाख ४३ हजार बराबरको प्रत्यक्ष आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला अदालत काठमाण्डुबाट अनुमति लिएर पक्राउ गरिएका उनीहरूमाथि आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

पूर्वमहानिर्देशक झालाई यसअघि पनि डीडीसीको करिब १७ करोड रकम संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोपमा २०८० सालमा प्रहरीले पक्राउ गरेको थियो।