काठमाण्डु – सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलले लामो समयसम्म संसदमा अवरोध हुँदा जनतामा वितृष्णा उत्पन्न भएको भन्दै अवरोध अन्त्य गर्न एमालेसँग आग्रह गर्ने निर्णय गरेको हो ।
‘लामो समयदेखि सार्वभौम संसद् चल्न सकेको छैन । संसद अवरुद्ध भएकाले हवाइ सेवा प्राधिकरण जस्ता महत्त्वपूर्ण विधेयकमा संसदमा गम्भीर रूपले छलफल गर्ने अवस्था छैन,’ बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संसद् यति लामो समय सञ्चालन नहुँदा संसद्प्रति नै जनतामा नकारात्मक धारणा भएकोले प्रमुख प्रतिपक्षी दललाई संसद् सञ्चालन गरेर राष्ट्रका यावत समस्याको विषयमा छलफल गर्ने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेका छौं ।’
गठबन्धनमा भएका अहिलेसम्मका काम कारबाहीको समीक्षा गर्दै बैठकमा साझा न्युनतम कार्यक्रमको कार्यान्वयनमा केन्द्रित हुने निर्णय पनि भएको छ ।




प्रतिक्रिया