भीम रावललाई विप्लवको प्रस्ताव- देशभक्तहरू एक होउँ, मोर्चा बनाऔं

भीम रावललाई विप्लवको प्रस्ताव- देशभक्तहरू एक होउँ, मोर्चा बनाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । आज बिहान नेता रावलको निवास टोखा पुगेर विप्लवले वार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा विप्लवले आफूसँग राष्ट्रिय स्वधीनताका लागि सबै देशभक्तहरु एक हुनुपर्ने प्रस्ताव राखेको नेता रावलले जानकारी दिए । रावलका अनुसार विप्लवले ‘देशभक्तहरु’ एक हुनुपर्ने र मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

‘आज (बिहीबार) नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो । उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो,’ विप्लवसँगको भेटपछि रावलले भनेका छन् ।

विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथमा लिएर रावललाई भेट्न टोखा पुगेका हुन् । अमेरिकी अनुदान सहायता सम्झौता (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएपछि विप्लवले एमसीसी सम्झौताको विपक्षमा रहेका विभिन्न दलका नेताहरुसँग भेटघाट बढाएका छन् ।

विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे लगायतलाई भेटेका थिए ।