काठमाण्डु – अमेरिकी सहयोगको एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धनमा विवाद चर्किएका बेला फागुन १३ गते पोखरामा आयोजित नेकपा एमालेका अगुवा कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गबठन्धन टुट्दैन, गठबन्धन टुट्न पनि हुँदैन । टुटिहालेमा विचराहरू धुलोपिठो हुन्छन् ।’
त्यसको २ दिनपछि फागुन १५ गते सत्तारुढ गठबन्धनकै बहुमतले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भयो । नेकपा माओवादी केन्द्रभित्र एमसीसी विरोध मत हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पक्षमा मत दिने निर्णय गरे ।
एमसीसीको पक्षमा उभिनुपर्ने बाध्यताबारे प्रष्ट पार्दै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकमा भनेका छन्, ‘अमेरिका धेरै शक्तिशाली राष्ट्र हो । अमेरिकासँग लड्ने स्रोतसाधन हामीसँग छैन । शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन । यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लगाइएका मुद्दाहरू व्युँतिने खतरा थियो । मैमाथि १८–१९ मुद्दाहरू छन् । अन्य कमरेडहरूविरुद्ध पनि मुद्दाहरू छन् । एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा ब्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो ।’
एमाले अध्यक्ष ओलीले पोखरामा भनेको ‘धुलोपिठो हुने’ कुरा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो केन्द्रीय कमिटी बैठकमा राखे । प्रचण्डलाई द्वन्द्वकालीन मुद्दा सँगसँगै गठबन्धन भत्किने डर पनि उत्तिकै छ । गठबन्धन भत्किए सभामुख अग्निप्रसाद सापकोटा पदमुक्त हुनेदेखि चुनावी तालमेल नहुने खतरालाई प्रचण्डले नजिकबाट देखिरहेका छन् । त्यसैले माओवादीले नै ‘राष्ट्रघाती’ भनेको एमसीसी सम्झौता पारित गराउन प्रचण्ड तयार भएका हुन् ।
एमसीसी पारित गरेपछि माओवादी ढुक्क हुनसक्छ ?
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनमा चुनावी तालमेलबारे प्रस्ताव प्रस्तुत गरेका छन् । जसमा भनिएको छ – गठबन्धन दलले जितेका पालिकामा सोही दललाई प्रमुख/अध्यक्ष दिने, एमालेले जितेका पालिकामा दोस्रो हुने दललाई प्रमुख÷अध्यक्ष दिने । गठबन्धनका दलले चुनावमा तालमेल गरेर जाने ।
यस्तो मापदण्डअनुसार चुनावमा गए कांग्रेस पहिलो र माओवादी दोस्रो हुने तथा एमाले स्थानीय तहबाट पाखा लाग्ने प्रचण्डको विश्लेषण छ । आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय चुनावमा माओवादीलाई धुलोपिठो हुनबाट रोक्न प्रचण्डले तालमेलको प्रस्ताव अगाडि सारेका छन् ।
तर कांग्रेस नेताहरू चुनावी तालमेलमा रुचि देखाइरहेका छैनन् । कांग्रेस नेता डा. शेखर कोइरालाले शनिबार विराटनगरमा आयोजित विचार गोष्ठीमा भने, ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो, कांग्रेसको सिद्धान्त कम्युनिस्टहरूलाई भोट हाल्ने होइन ।’
कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनका दल माओवादी र नेकपा एकीकृत समाजवादीलाई हात्तीको कानमा झुण्डिएको चमेरोको संज्ञा दिँदै निर्वाचनसम्म गठबन्धन नहुने जिकिर गरे । उनले भने, ‘कांग्रेस हात्ती हो । कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । हात्तीको ठूलो कानभित्र ओत लाग्न पाउँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन् । हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ । कसैलाई हार्छु कि भन्ने लाग्छ भने त्यो उसैको कमजोरी हो । स्वार्थमा सवार भएर एकता वा गठबन्धन गर्नु आवश्यक छैन ।’
कांग्रेस महामन्त्री गगन थापाले माले, मण्डले र मसाले एकै भएका दाबी गर्दै भने, ‘५ वर्ष शासन गर्छु भन्ने तत्कालीन नेकपाले ३ वर्ष पुग्दा–नपुग्दै एकथरि घर पोलेर खरानी घस्दै नाच्न थाले, अर्काथरि हामीलाई लखेटियो भन्दै लाम लागेर सरकार चलाइदिनुप¥यो भन्दै कांग्रेसलाई अनुरोध गर्न आए । त्यही कारण २३ वटा सिट जितेको कांग्रेसले केन्द्र सरकार चलाउनुपरेको छ ।’
कम्युनिस्ट पार्टीहरू विभाजित भएको बेला एक्लै चुनाव जित्न सकिने मानसिकतासहित कांग्रेस नेताहरू गठबन्धन नगर्ने रणनीतिमा छन् । त्यसैले गठबन्धनमा समय–समयमा समस्या निम्तिरहेको छ ।
सभामुखलाई राजीनामा गराउन देउवाको दबाब
एमसीसी पारित भएपनि संसदको गतिरोध अन्त्य भइसकेको छैन । नेकपा एमालेले सभामुखको राजीनामा वा पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै संसदमा निरन्तर अवरोध गरिरहेको छ । संसदमा भइरहेको अवरोध अन्त्य गर्न पहल गर्ने दायित्व सत्तारुढ गठबन्धन र प्रधानमन्त्री देउवाको रहेको बताइन्छ ।
एमसीसी पारित भएपछि अब सोही दायित्व पूरा गर्न चाहन्छन् प्रधानमन्त्री देउवा । एमसीसी पारित भएपछि प्रचण्ड र माधवकुमार नेपालसँगको भेटमा देउवाले सभामुख सापकोटालाई राजीनामा गराउन आग्रह गरेका छन् । सापकोटाको राजीनामा नभई संसदको गतिरोध अन्त्य नहुने भएकाले देउवाले राजीनामा गराउन प्रचण्डलाई आग्रह गरेका छन् । देउवाको प्रस्तावले गठबन्धनमा फेरि तनाव उत्पन्न हुने देखिएको छ । देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता महन्थ ठाकुरलाई सभामुख बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् ।
सभामुख सापकोटाले राजीनामा नगर्ने हो भने संसदले काम गर्न नसक्ने भन्दै देउवाले त्यसपछि संसद विघटन गर्नुको विकल्प नभएको बताएका छन् । संसद विघटन गरेर मध्यावधि चुनावमा जाने विकल्पबारे देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग समेत छलफल गरिसकेका स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवासँगको भेटमा प्रचण्डले भने केही मन्त्री हेरफेर गर्न प्रस्ताव गरेका छन् । एमसीसीले पार्टीमा चर्किएको विवाद मत्थर पार्न प्रचण्डले मन्त्री पद बाँडफाँटको उपाय निकालेका छन् ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीलाई सुरक्षित राख्न र ‘धुलोपिठो’ हुनबाट जोगाउने रणनीतिमा हिँडिरहेका प्रचण्डसामु थुप्रै चुनौती देखिँदै गएका छन् । कांग्रेसका अधिकांश नेताहरू चुनावी तालमेलको विपक्षमा छन् । यस्तो अवस्थामा माओवादी केन्द्रलाई चुनावमा ‘धुलोपिठो’ हुनबाट कांग्रेसले जोगाइदेला ? केही महिनामा चित्र स्पष्ट हुनेछ ।




प्रतिक्रिया