मुक्त कमैंयाबाट मिल मालिक बनेका केशवको सङ्घर्षपूर्ण जिवन

मुक्त कमैंयाबाट मिल मालिक बनेका केशवको सङ्घर्षपूर्ण जिवन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित मुक्त कमैँया बस्तीका केशव डगौरालाई विगतमा जस्तो अहिले मजदुरीमा जाने चटारोे छैन । घर खर्च चलाउनका लागि आर्थिक अभावसमेत छैन । सहजरुपमा परिवारको खर्च चल्न थालेको छ । उनले घरमै कुटानीपिसानी मिल सञ्चालन गरेपछि को जीवनशैली नै परिवर्तन भएको छ । कुटानीपिसानी मिलसँगै केशवले घरमै बङ्गुर फार्म र किराना पसल सञ्चालन गरेका छन् ।

निकै सङ्घर्ष गरेर प्रगति गरेका केशवको विगतका जीवन निकै सङ्घर्षपूर्ण रहेको छ । ‘कमैँया मुक्तिको घोषणापश्चात् पुनःस्थापन भएपछि कमाउने साधन केही थिएन’, उनले भने, ‘मजदुरी गरेर जीविका चलाउँदै आएका थियौँ । दिनभरि मजदुरी गर्दा ५० मात्रै ज्याला पाइन्थ्यो । त्यसले घर खर्च चालाउन सकिने अवस्था थिएन । सबै मजदुर एकजुट भयौँ । मजदुरी गर्ने ठाउमा ज्याला बढाए मात्रै काम गर्ने निधो गरेपछि ज्यालाको रकम बढाएर १०० कायम भयो । त्यसबाट परिवारको खर्च चलाउन केही सहज भयो ।’ मुक्त कमैँयाका लागि बस्तीमा सिकर्मी कामका लागि तालिम आयो । त्यसमा केशव पनि सहभागी भए ।

सीप सिकेपछि मजदुरीबाट आउने ज्यालाभन्दा बढी रकम पाइन थालेकाले परिवारका लागि खर्च जुटाउन सहज हुँदै आयोे । गरिबी निवारणका लागि बस्तीमा समूह गठन भयो । ‘समूहमा आबद्ध भए’, केशवले भने, ‘समूहबाट केही रकम कर्जाका लिए । त्यसबाट पुनःस्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा तरकारीखेती गरेँ त्यसबाट तीन महिनामै  २५ हजार हात लाग्यो । तरकारीखेतीको रकमबाट चार वटा बङ्गुरपालन गरेँ । बङ्गुर बेचेर समूहबाट लिएको कर्जा तिर्न पनि भ्याएँ ।’

‘मनमा बस्ती वरपर कसैले नगरेको काम गर्नका लागि कुरा खेल्न थाल्यो । निकै सोच विचार गरेपछि कुटानीपिसानीको मिल सञ्चालन गर्ने निधो गरेँ । मिल सञ्चालन गर्नका लागि बङ्गुर बेचेको केही रकम थियो,’ उनले भने, ‘पुनःसमूहबाट रु ५० हजार कर्जा लिएँ । धान कुट्ने उपकरण, आटा बनाउने चक्की र एक वटा डिजेल इञ्जिन राखेर काम सुरु गरेँ । कुटानीपिसानी मिलबाट आम्दानी बढ्दै गयो र त्यसपछि पैसाका लागि कसैसँग हात थाप्न नै परेन ।’

समूहबाट थप एक लाख कर्जा लिएर मिलमा लगानी गरी विद्युतीय मोटर पनि जडान गरेपछि केशवको आम्दानी झन बढ्न थाल्यो । हाल मिलमा उनले ६ लाख लगानी गरी आधुनिक कुटानीपिसानीका उपकरण जडान गरेका छन् । यसबाट मासिक २५ हजारदेखि ३५ हजारसम्म आम्दानी हुन्छ । मिलकै कमाइबाट पालिएका बङ्गुरबाट वार्षिक ७० हजार र किराना पसलबाट १५ हजार मासिक आम्दानी हुने गरेको छ ।

नौ जनाको परिवारको खर्चसमेत व्यवसायबाटै आएको आम्दानीबाट धानिएको छ । छ कोठाको पक्की घरसमेत केशवले निर्माण गरेका छन् । मिलबाट कमाई हुने पैसाबाटै छोराछोरीको बीमासमेत गरिएको छ । बाह्र वर्षको उमेरमै कमैँया बसेर केशवले काम गरेका हुन् । ‘पैँतीस वर्षको उमेरसम्म कमैँया बसेर काम गरेँ’, उनले भने, ‘जीवनमा सङ्घर्ष गर्न सिकेकाले भोकै रहनुपरेको छैन । अरु जस्तै सहजरुपमा जीवनयापन गर्न सकिएको छ ।’

‘समाजमा सम्मान र आदर पनि उत्तिकै पाइन थालेको छ ।’ भविष्यका लागि केशवले बैंकमा रकम बचतसमेत गर्दै आएका छन् । ‘लगनशील भएर कार्य गरे जीवनमा सफलता अवश्य पाइन्छ’, उनले भने, ‘सङ्घर्ष गरे थोरै पुँजीले पनि धेरै कमाई गर्न सकिँदोरहेछ । त्यसका लागि धैर्यता आवश्यक छ ।’