सत्ता गठबन्धनमा चुनावी तालमेलकाे संकेत, कांग्रेसभित्र जुट्ला सहमति ?

सत्ता गठबन्धनमा चुनावी तालमेलकाे संकेत, कांग्रेसभित्र जुट्ला सहमति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो समय सत्ता गठबन्धन भित्र स्थानीय तहको चुनावमा मिलेर जाने विषयमा बहस चलिरहेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित जाने रणनीति बनाइरहेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा मिलेर जाने सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गरेका छन् । ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, त्यहाँ मिल्ने हो,’अध्यक्ष नेपालले पार्टीको केन्द्रीय समिति बैठकमा भनेका थिए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा चुनावमा गठबन्धन हुने र प्रतिगमनलाई परास्त गर्ने बताएका थिए। प्रचण्ड माधवले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावमा मिलेर जान पटक-पटक आग्रह गरिरहेका छन् ।

कांग्रेसभित्र जुट्ला सहमति ?
नेपाली कांग्रेसभित्र भने चुनावमा गठबन्धनसहित जाने विषयमा मतभेद रहेको छ । पछिल्लो समय प्रधानमन्त्री देउवा चुनावमा गठबन्धन दलहरुसँग मिलेर जाने पक्षमा खुलेका छन् । प्रधानमन्त्री देउवाले यसभन्दा अघिको चुनावमा एक्लै लड्दा हारेको बताउँदै चुनावमा गठबन्धसहित जान सक्ने अवस्था आउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले एक्लै बहुमत ल्याउन नसकिँने भएकाले गठबन्धन गर्न आवश्यक रहेको बताएका हुन् । ‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो । एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’, बिहीबार पर्सामा आयोजित एक कार्यक्रममा देउवाले भनेका थिए ।

प्रधानमन्त्री देउवा चुनावमा गठबन्धन सहित जाने पक्षमा भए पनि नेपाली कांग्रेसका नेताहरु भने एक्लै चुनावमा जानुपर्ने अडानमा छन् । काग्रेस नेताहरुले तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै जाने अडान राख्दै आएका हुन् । गठबन्धन विशेष परिस्थितिले बनेकाले निर्वाचनसम्म मात्रै गठबन्धन रहने काग्रेस नेताहरुको दावी छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तिनै तहको चुनावमा कुनै पनि गठबन्धन दलहरुसँग सहकार्य गर्न नसकिने बताउँदै आएका छन् ।

डा. कोइरालाले कम्युनिष्टहरु रुखमा भोट नहाल्ने भएकाले चुनावमा गठबन्धन दलहरुसँग मिलेर जान नसकिने दावी समेत गरेका छन् । ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो’, कोइरालाले भने, ‘कांग्रेसको सिद्धान्त कम्युनिष्टहरूलाई भोट हाल्ने होइन ।’ डा. कोइरालाले काठमाण्डुमा आयोजित एक कार्यक्रममा भनेका थिए ।

उसो त उनले पटक पटक पार्टीको बैठकमा पनि चुनावमा कुनै पनि दलसँग सहकार्य गर्न नसकिने कुरा राख्दै आइरहेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि चुनावमा कुनै पनि दलसँग सहकार्य गर्न नसकिने बताउँदै आएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गर्दै कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने दाबी गरेका छन् ।

‘कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् ।’ उनले काठमाण्डुमा आयोजित एक कार्यक्रममा भनेका थिए । पछिल्लो समय गरुङ भने गठबन्धन दलहरुको बारेमा खुलेआम चर्को आलोचना गरिरहेका छन् ।

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पनि आगामी चुनावमा कार्यकर्ताले गठबन्धन स्वीकार नगर्ने बताएका छन् । त्यसैगरी फागनु २२ गते नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू डा डिला संग्रौला, सरिता प्रसाई, राजीव कोइराला, अमृत अर्याल, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, चन्द्र भण्डारी, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, उपसभापति नागेश कोइराला, प्रदेश सांसद केदार कार्की, खोटाङका सभापति विष्णु राईलगायतले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्नेमा जोड दिएका थिए ।

तिनै तहको चुनावमा एक्लै लड्नु पर्ने नेपाली कांग्रेसका नेताहरुको अडानले सत्ता गठबन्धनसहित स्थानीय तहको चुनावमा जाने सम्भावन भने कम देखिएको छ । नेपाली कांग्रेसभित्र गठबन्धनसहति चुनावमा जाने विषयमा सहमति जुटाउन प्रधानमन्त्री देउवालाई चुनौती थपिएको छ ।