काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी ‘मकालुु’ विमान नेपाल भित्र्याएको छ। ए ३३०–२०० सिरिजको विमानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले 9N – ALZ कल साइन दिएको छ।
विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका थिए ।
विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।
नयाँ जहाजमा पनि पहिलो वाइडबडीमा जस्तै दुई सय ७२ सिट छन्। जसमा १८ वटा सांग्रिला (बिजनेस) क्लास र दुई सय ५६ वटा इकोनोमिक (साधारण) क्लासका सिट रहेको निगमले जनाएको छ। लामो दुरीमा उडान गर्न मिल्ने जहाजमा २–२–२ फम्र्याटका बिजनेस क्लास, २–४–२ फम्र्याटका इकोनोमी क्लासका सिट छन्।
निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२र१२ अर्ब रुपैयाँको ऋणबाट दुईवटा वाइडबडी जहाज खरिद गरेको हो।
यसअघि निगमले पहिलो पटक ‘अन्नपूर्ण’ नाम दिइएको वाइडबडी ए ३३०–२०० सिरिजको विमान असार १४ भित्र्याएको थियो। निगमले खरिद गरेका दुईवटा वाइडबडीमध्ये पहिलो जहाजले सोमबारमात्रै भारतको डिल्लीमा प्रुफिङ उडान गरेको थियो। उक्त जहाजको पहिलो व्यावसायिक उडान यही साउन १६ गते कतारमा हुँदैछ।
नेपालले सन् २०२० मा मनाउन लागेको ‘भिजिट नेपाल’ र पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने विश्वास निगमले लिएको छ । अहिले निगम तेस्रो धेरै यात्रु बोक्ने एयरलाइन्स कम्पनीको रूपमा छ।




प्रतिक्रिया