र्‍याडिसन होटलसहित बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम

र्‍याडिसन होटलसहित बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्यटन विभागले बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गराएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।

‘मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिन निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौँ, नबुझाए कारबाही हुन्छ,’ उनले भने ।

विभागले सार्वजनिक गरेको सूचनामा रक इन्टरनेशनल प्रालि काठमाण्डुको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाण्डुको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।

ती कम्पनीले पाँच दिनभित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।