‘पाकिस्तानको बाढी पुन:स्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

‘पाकिस्तानको बाढी पुन:स्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टर्की – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुन:स्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताएका छन् ।

कोप–३१ सम्मेलन स्थलमा रहेको पाकिस्तान प्याभिलियनमा शनिबार आयोजित ‘समुदायको नेतृत्वमा तथ्यांकमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उनले बाढी प्रभावितको पुन:स्थापनाका लागि नेपालले गरिरहेका पहल र प्रक्रियाबारे जानकारी गराए ।

डा. उप्रेतीका अनुसार प्रभावित क्षेत्रको भौगर्भिक तथा बाढी जोखिम आकलन, सुरक्षित स्थानको पहिचान र स्थायी आवास निर्माणका लागि लाभग्राही छनोटको प्रक्रिया अघि बढाइएको छ । प्रभावितलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा बाढीबाट प्रभावित निजी जग्गासँग सरकारी जग्गा साट्ने विषयमा छलफल भइरहेको उनले बताए ।

प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय भएको जानकारी दिँदै उनले पुन:स्थापना प्रक्रियामा जोखिम मूल्यांकनलाई प्राथमिकता दिइएको उल्लेख गरे ।

‘नेपालले जोखिमसम्बन्धी ज्ञान तथा पूर्वसूचना प्रणालीलाई योजना निर्माणको आधारका रूपमा आत्मसात गरेको छ । भौगर्भिक जोखिम, बाढीजन्य जोखिम तथा तिनका शृंखलाबद्ध असरको बहुप्रकोपीय जोखिम आकलन सुरु गरिएको छ,’ उनले भने ।

उनले सन् २०२२ मा पाकिस्तानमा आएको विनाशकारी बाढीपछि हजारौँ प्रभावितको पुन:स्थापना तथा पुनर्निर्माणका क्रममा हासिल भएका अनुभव र सिकाइबाट नेपालले लाभ लिनसक्ने धारणा राखे । छलफलमा पाकिस्तानी प्रतिनिधिहरूले सन् २०२२ को बाढीपछिको पुन:स्थापना तथा पुनर्निर्माणका अनुभव, चुनौती र सिकाइ प्रस्तुत गरेका थिए ।