काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवासँग २०४६ सालपछिका सबै जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा उपसभापति गुरुङले भ्रष्टाचारीलाई जेल हाल्ने एजेण्डा बोकेर चुनावमा जान देउवासँग आग्रह गरेका हुन् ।
निर्वाचन गठबन्धनले नभई एजेण्डाले जितिने उनको भनाई छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई २०४६ सालयताका सबै प्रधानमन्त्री,मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गराउने अभियानको नेतृत्व लिने गुरुङले आग्रह गरे । उनले बैठकमाभने, ‘प्रधानमन्त्रीजले हिम्मत गर्नुहोस् । सबैको सम्पत्ति विवरण सार्वजनिक गरौँ । भ्रष्टाचारीलाई जेल हाल्ने एजेण्डा बोकेर चुनावमा जाऔँ । जनताले दुई तिहाइ दिनेछन् । कुनै कम्युनिस्ट पार्टीको बुँइ चढ्नुपर्दैन’,
त्यसैगरी उनले आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गर्न तयार भएको पनि बताए । ‘म आफ्नो सम्पत्ति सार्वजनिक गर्न तयार छु । हामी सबैले आ-आफ्नो सम्पत्ति सार्वजनिक गरेर जनतामा जाऔँ । यति हिम्मत गर्यो भने देश पनि बन्छ, कांग्रेसले पनि जित्छ’,
गुरुङ पछिल्लो समय गठबन्धनकोविरुद्धमा बोल्दै आइरहेका छन् । उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले तालमेल नगर्नु पर्ने पक्षमा उभिएका छन् । प्रधानमन्त्री देउवाले भने पार्टीका नेताहरुलाई गठबन्धनकोविरुद्धमा नबोल्न आग्रह गरेका छन् । देउवा जसरी भए पनि चुनावमा गठबन्धनसँग तालमेल गर्ने देखिन्छन् ।




प्रतिक्रिया