लन्डन- इङ्लिस क्बल म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गरेको छ।
क्लबले बिहीबार उनलाई पदबाट हटाएको घोषणा गरेको हो। क्यारिकको स्थानमा हाल अमेरिकाका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो आउने तयारीमा छन्। उनी र युनाइटेडबीच मौखिक सहमति भएको स्काइ स्पोर्ट्सले जनाएको छ।
क्यारिकले दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ महिना नपुग्दै क्लब छाड्नुपरेको हो। उनको नेतृत्वमा युनाइटेडले प्रिमियर लिगका १० खेलमध्ये एकमा मात्र जित निकालेको थियो। टोली रेलिगेसन क्षेत्रसम्म झरेपछि क्लबले प्रशिक्षक परिवर्तन गर्ने निर्णय गरेको हो। क्लबले वक्तव्यमा आफ्नो लक्ष्य हासिल गर्न परिवर्तन आवश्यक ठानेको जनाएको छ।
पोचेटिनो अहिले अमेरिकी राष्ट्रिय टोलीको जिम्मेवारीमा छन्। उनी शनिबार र बुधबार हुने हाइटीविरुद्धका नेसन्स लिगका खेलपछि युनाइटेडको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ। अमेरिकासँगको सम्झौतामा उनको करिब ७० लाख पाउन्डको रिलिज क्लज छ। त्यसबारे अमेरिकी फुटबल महासंघसँग छलफल हुने बताइएको छ।
क्यारिकको बर्खास्ती आइतबार एस्टन भिल्लासँग ४–४ को बराबरीपछि भएको हो। युनाइटेड खेलको चौथो मिनेटमै २–० ले पछाडि परेको थियो र दोस्रो हाफमा ४–२ को अवस्थामा पुगेपछि खेल बराबरीमा ल्याएको थियो।
त्यसअघि च्याम्पियन्स लिगमा रोमाविरुद्ध पनि टोलीले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकालेको थियो। तर, ती नतिजाले क्लब व्यवस्थापनलाई क्यारिकलाई निरन्तरता दिन विश्वस्त पार्न सकेनन्।
क्लबका सहमालिक सर जिम र्याटक्लिफ, प्रमुख कार्यकारी ओमार बेराडा र फुटबल निर्देशक जेसन विल्कक्सबीच मोनाकोमा भएको बैठकमा क्यारिकलाई हटाउने निर्णय गरिएको समाचारमा उल्लेख छ। क्यारिकको प्रशिक्षक समूहमा रहेका जोनी इभान्स र जोनाथन वुडगेटले पनि क्लब छाड्ने अपेक्षा गरिएको छ।
क्यारिक जनवरी २०२६ मा रुबेन अमोरिमको बर्खास्तीपछि सिजनको अन्त्यसम्मका लागि अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा युनाइटेडले १७ खेलमध्ये १२ जित्दै लिगमा तेस्रो स्थान हासिल गरेर च्याम्पियन्स लिगमा फर्कियो। त्यसपछि मे २२ मा उनले सन् २०२८ सम्मको सम्झौतामा हस्ताक्षर गरेका थिए। तर, यस सिजनका १५ खेलमा तीन जित मात्र निकाल्न सकेपछि उनको पद गुमेको हो।
युनाइटेडका पूर्वखेलाडी तथा विश्लेषक ग्यारी नेभिलले प्रशिक्षक फेर्दैमा क्लबको समस्या समाधान नहुने बताएका छन्। उनका अनुसार कमजोर प्रदर्शन विभाग, खेलाडी छनोट र क्लबको नेतृत्व संरचनामा सुधार नगरेसम्म नयाँ प्रशिक्षक पनि असफल हुन सक्छन्।
पोचेटिनो यसअघि तीनपटक युनाइटेडको प्रशिक्षक बन्ने चर्चामा आएका थिए। यसपटक भने उनी ओल्ड ट्राफोर्डको जिम्मेवारी सम्हाल्ने नजिक पुगेका छन्।


प्रतिक्रिया