काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा गत शुक्रबार ५० जना प्रतिनिधिमण्डलको टोलीसहित भारत प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री देउवाले भारतमा रहँदा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, उपराष्ट्रपतिसँग पनि भेट गरेका थिए । त्यस्तै भारतको नयाँ दिल्ली पुगेलगत्तै प्रधानमन्त्री देउवाले भाजपा मुख्यालयको भ्रमण गरेका थिए ।
उनले परम्पराविपरित भाजपा मुख्यालयको भ्रमण गरेपछि त्यसलाई लिएर पक्षविपक्षमा टिप्पणी भइरहेका छन् । भाजपा कार्यालयको भ्रमण गर्ने देउवाको निर्णयको बचाउ गर्दै प्रवक्ता प्रकाशसरण महतले नेपालका वामपन्थी दलहरूले जस्तै चिनियाँ कम्युनिस्ट पार्टीसँग गर्ने वैचारिक प्रशिक्षणजस्तो त्यो नभएको तर्क गरे ।
उनले भने, ‘हाम्रो प्रधानमन्त्री नेपालको एउटा प्रमुख दलको सभापति पनि हो । त्यस अर्थमा उहाँहरूले निम्तो दिनुभयो र उहाँ त्यहाँ जानुभयो । यो अरू जस्तो त्यहाँ छुट्टै वार्ता गर्न वा प्रशिक्षण गर्न गएको होइन । कुनै किसिमको तुलना गर्नुको अर्थ छैन ।’
विगतमा कुनै पनि नेपाली प्रधानमन्त्रीले आफ्नो औपचारिक भ्रमणमा प्रतिनिधिमण्डलसहित भारतीय सत्तारूढ दलको मुख्यालयको भ्रमण गरेका थिएनन् ।
आफ्नो सत्ता गठबन्धनका दलहरूसँग स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेर नयाँ दिल्ली हिँडेका देउवाले भाजपासँग सम्बन्ध मजबुत बनाउने हिसाबमा मुख्यालयको भ्रमण गरेको बुझिाएको छ ।
स्थानीय निर्वाचन र देउवाको भारत भ्रमण
वैशाख ३० का लागि तोकिएको चुनाव आउन डेढ महिना पनि बाँकी नरहेको समयमा देउवा भारतको औपचारिक भ्रमणमा निस्किएका थिए । कतिपयले उनको यो भ्रमणलाई चुनावसँग जोडेर हेरेका छन् । भूतपूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता महत चुनावसँग प्रधानमन्त्रीको भारत भ्रमणलाई जोड्नु औचित्यहीन भएको बताउँछन् ।
उनी भन्छन्, ‘कोभिड महामारीको कारणले लामो समयसम्म भ्रमणहरू हुन सकिरहेको थिएन । अहिले भएको भ्रमणले दुवै देशका चासो चिन्ताहरू उच्च तहमा राख्ने अवसर दियो । केही समय पहिले चीनको विदेशमन्त्री पनि नेपाल आउनुभएको थियो । अब हामीले चुनावको अघि किन आउनुभयो भनेर प्रश्न गर्ने ? अनावश्यक कुरामा शङ्का उपशङ्का गर्नुको कुनै औचित्य छैन ।’
लगभग चार वर्षको अन्तरालमा भएको नेपाली प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध अभिवृद्धि गर्न महत्त्वपूर्ण भएको दुवै देशका अधिकारीहरूले बताएका छन् ।
सीमा विवाद सहितका विषयमा छलफल भएको यो भ्रमणमा नेपाल र भारतबीच ऊर्जा सहकार्यबारे महत्त्वपूर्ण साझेदारी भएको भनिएको छ । साथै भारतले यो वर्षभित्र नेपालमा ७५ वटा विकास परियोजनाहरू शिलान्यास गर्ने प्रतिबद्धता जनाएको छ ।
बिना एजेन्डा भ्रमण
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई व्यक्तिगत र दलीय लाभ लिने प्रयास भएको टिप्पणी गरेको छ ।
एमालेको विदेश विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री देउवाले चुनाव घोषणा गरिसकेपछि भारतको भ्रमण गरेर व्यक्तिगत र दलीय लाभ लिने प्रयास गरेको टिप्पणी गर ।
‘देशमा चुनाव घोषणा भएको छ र यहाँ दलहरूको बीचमा तिक्तता छ । संवाद हुन सकिरहेको छैन । संसद् अवरुद्ध छ । मूल विषयहरूमा केही सहमति नै नभइरहेको अवस्थामा उहाँ बिना एजेन्डा भारतको भ्रमणमा जानुभयो,’ उनले भने । नेता रिजालले प्रधानमन्त्री देउवाले भाजपाको मुख्यालय गएर दक्षिणपन्थतर्फको यात्रा हो है मेरो भन्ने सन्देश दिन खोजेको प्रतिक्रिया दिए ।
‘अहिले एउटा अतिवादी र दक्षिणपन्थी भनेर संसारभर आलोचित दलको मुख्यालय गएर देउवाले दक्षिणपन्थतर्फको यात्रा हो है मेरो भन्ने सन्देश दिन खोज्नुभएको छ,’ उनले भने ।
त्यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणको कुनै तुक नभएको र चुच्चे नक्सालाई बुच्चे नक्सा बनाउन भारत गएको दावी गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमणमा बनारसको भ्रमण र दर्शन गर्नुबाहेक अन्य उपलब्धि नभएको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीले भारतमा चुच्चे नक्साको विषयमा कुरा पनि उठाइउनु भएन । प्रधानमन्त्रीको यो भ्रमणको उपलब्धी श्रीमती लिएर वनारस दर्शन गर्नुभन्दा बढी म देख्दिनँ। मुलुकको बलियो पोजिसनलाई पनि कमजोर बनाएर फर्कनुभयो,’ उनले भने ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत चुनावको मुखैमा प्रधानमन्त्रीजी किन भारत भ्रमणमा जानुभयो ? फर्किएपछि सोध्ने अभिव्यक्ति दिएका थिए ।
घरेलु राजनीतिसँग जोड्नु अनुपयुक्त
प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्कनुपूर्व नै भारतीय प्राध्यापक एसडी मूनीले यो भ्रमणको उदेश्य अघोषित व्यक्तिगत र राजनीतिक सन्देश रहेको टिप्पणी गरेका थिए ।
नेपाल मामिला विज्ञ मानिएका मूनीले सामाजिक सञ्जाल ट्विटरमा देउवाले दिल्लीलाई नेपाली कांग्रेसमा संस्थागत पकड कायम राखिराख्न आफूलाई सहयोग गरेकोमा धन्यवाद दिने र चुनावमा भारतको सहयोगको खोजी गर्ने उल्लेख गरेका थिए ।
यता भारतको छिमेक नीति अन्तर्गत नेपालसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँने कतिपय भारतीय विज्ञहरू त्यस अन्तर्गत हुने उच्चस्तरीय भ्रमणलाई आदानप्रदानका रूपमा लिनुपर्ने बताउँछन् ।
नेपाल मामिला नियाल्ने भारतीय विज्ञ निहार नायक घरेलु चुनावका लागि कुनै नेताले अर्को देशको भ्रमण गर्नु आवश्यक नरहेको बताउँछन् ।
उनी भन्छन्, ‘नयाँ दिल्लीले नेपालमा निरन्तर लोकतन्त्रलाई समर्थन गर्दै आएको छ। भारतकै कुरा गर्नुहुन्छ भने प्रत्येक तीनदेखि छ महिनामा स्थानीय वा प्रादेशिक चुनावहरू भइरहेका हुन्छन् । यस्तोमा अर्को देशलाई जोड्नु सही होइन ।’
उपलब्धि शून्य
सीमा समस्या समाधान गर्न समझदारीका साथ अघि बढ्नुपर्ने प्रस्ताव गर्नुलाई प्रधानमन्त्री देउवाको भारत भ्रमणको मुख्य उपलब्धि ठानिएको छ । भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा समेत नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो । भारतले त्यसलाई वेवास्ता गरेको र नेपालले माथिल्लोस्तरमा कुरा राख्न नसकेको अवस्थामा सीमा विवादमा आफ्नो सरोकार राख्नु प्रधानमन्त्री देउवाका लागि अवसर समेत थियो ।
यस्तै यो भ्रमण दुई देशबीचको सम्वन्ध सुधारमा महत्वपूर्ण खुड्किलो सावित भएको छ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन, पेट्रोलियम पदार्थको सहज आपूर्तिमा सहकार्य जस्ता विषयमा दुई प्रधानमन्त्रीको कुरा र सहमति पनि भ्रमणको उपलब्धिकै रुपमा लिन सकिन्छ ।
तर केही विषय, जुन प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा उठ्नै पर्थ्यो, त्यो विषय हो– नेपाल भारत प्रवुद्द समुह इपीजी प्रतिवेदन कार्यान्वयनमा लैजाने विषय । भ्रमणका क्रममा उनले त्यस विषयमा कुरा उठाउनै सकेनन् ।
अर्को दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको गतिशिलताबारे छलफल, त्यो पनि हुन सकेन । नेपालको बढ्दो व्यापार घाटा कम गर्ने विषयमा प्रधानमन्त्रीले प्रयत्न गर्ने अपेक्षा गरिएको थियो । तर त्यसमा कुनै प्रगति भएन ।
प्रधानमन्त्रीस्तरको भ्रमण पूर्व, दुई देशबीच विभिन्न चरणमा छलफल र वार्ता हुनुपर्ने हो, त्यो नहुनु तथा नेपालले पर्याप्त तयारी नगर्दा लामो समयदेखि दुई देशबीच देखिएका विषयलाई प्रधानमन्त्री देउवा र नेपाली पक्षले गम्भीरताका साथ अघि बढाउन नसकेको देखिन्छ ।




प्रतिक्रिया