काठमाण्डु- कप्तान सन्दीप लामिछानेको ह्याट्रिकसहितको उत्कृष्ट बलिङमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल)को २२औँ खेलमा पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ। पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरको जितमा इसुरु उडानाले १२ बलमा अविजित २५ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे। शेहान जयसूर्या १४ बलमा अविजित १७ रनसहित क्रिजमा रहे। बसिर अहमदले ३९ बलमा ३७ र लोकेश बमले २७ बलमा ३३ रन जोडे। इमरान शेखले १० रन बनाए।
विराटनगरले सुरुवातमै इमरान शेख र चरिथ असलंकालाई गुमाएको थियो। कुशल भुर्तेलले शेखलाई र रमेश मेन्डिसले असलंकालाई आउट गरे। लोकेश बम र बसिर अहमदले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। विराटनगरसँग हारेसँगै पोखराको प्लेअफ सम्भावना पनि सकिएको छ।
बम नवौँ ओभरमा ३३ रन बनाएर आउट भए। त्यसपछि एन्जेलो म्याथ्युज आठ र प्रतीश जीसी शून्यमा आउट भए। १६.५ ओभरमा बसिरको विकेट झर्दा विराटनगर १०५/६ को अवस्थामा थियो। त्यसपछि उडाना र जयसूर्याले अविजित साझेदारी गर्दै टोलीलाई जिताए।
पोखराका भुर्तेल र मेन्डिसले दुई–दुई विकेट लिए भने बिपिन खत्री र धनञ्जय लक्षनले एक–एक विकेट हात पारे। विराटनगरले १९.२ ओभरमा १३६/६ बनायो।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो।
ओपनर युवराज सामराले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रन बनाए। धनञ्जय लक्षनले १५ बलमा २२ र सन्नी विकले ११ बलमा १२ रन जोडे। पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखरालाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा सन्दीपले चार ओभरमा २७ रन दिएर ६ विकेट लिए। उनले अर्जुन घर्तीलाई सातौँ ओभरमा र सन्नी विक तथा रमेश मेन्डिसलाई ११औँ ओभरमा आउट गरेका थिए।
१५औँ ओभरमा युवराज सामरा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार बलमा आउट गर्दै उनले ह्याट्रिक पूरा गरे। युवराजलाई इसुरु उडानाको हातबाट क्याच गराएपछि सन्दीपले करुणारत्ने र ठगुन्नालाई एलबीडब्लू आउट गरेका थिए।
सन्दीपको यो टी–२० करियरकै उत्कृष्ट बलिङ हो। एनपीएलको एउटै इनिङ्समा ६ विकेट लिने उनी तेस्रो खेलाडी बनेका छन्। यसअघि पोखराविरुद्ध साहब आलमले ६/२५ र कर्णाली याक्सका विल बोसिस्टोले ६/२८ को बलिङ गरेका थिए।
विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंकाले एक–एक विकेट लिए भने रुपेश सिंहले ०.५ ओभरमा दुई रन दिएर एक विकेट हात पारे। सन्दीपको उत्कृष्ट बलिङपछि पोखरा १३२ मै रोकियो। यता उडाना र जयसूर्याको अन्तिम साझेदारीले विराटनगरलाई लक्ष्यसम्म पुर्याउन सफल भयो।


प्रतिक्रिया