पर्यटन बोर्डमा बिस्काः जात्राको फोटो प्रदर्शनी

पर्यटन बोर्डमा बिस्काः जात्राको फोटो प्रदर्शनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्रासम्बन्धी तीन दिने एकल फोटो प्रदर्शनी सुरू भएको छ । फोटो पत्रकार रत्न श्रेष्ठले विगत ६ वर्षदेखि सङ्कलन गरेको बिस्काः जात्राको फोटोले मध्यपुर थिमिको उल्लासमय पर्वको कथा वर्णन गरेको छ ।

पर्यटन बोर्डको प्राङ्गणमा राखिएको फोटो प्रदर्शनीको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ र काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । फोटो पत्रकार श्रेष्ठले पर्यटन वोर्डको प्राङ्गणमा राखिएका फोटोहरू थिमिमा चैत मसान्त, बैसाख १ र २ गतेसम्म तीन दिन भव्यताका साथ मनाईने पर्वका फोटोहरूको सङ्कलन भएको भन्दै फोटो अवलोकन गरेर सुझाव, प्रतिक्रिया दिन आग्रह गरे ।

राष्ट्रिय समाचार समितिमा कार्यरत श्रेष्ठले मध्यपुर थिमिको पहिचानसँग जोडिएको बिस्काः जात्रा अर्थात बालकुमारीको जात्रा गरिने स्थान बालकुमारी, चपाचो, नगदेश, बोडे र तिगनी क्षेत्रमा गरिने जात्राका झलक फोटोमा समेटिएको बताए । त्यसैगरी विभिन्न टोलमा तीन दिनसम्म मनाइने जात्राको अर्को विशेषता ३२ वटा खट एकै स्थानमा जम्मा भएर सिन्दुरे जात्रा गरिने परम्परा पनि हो ।

यस जात्रा मृत्युपछि पनि हेर्न पाउँ भन्ने कामनासहित गुठि राख्ने व्यक्तिको प्रतिमा पनि परिवारको सदस्यले बोकेर जात्रामा सहभागी हुने परम्परा अन्यत्र नपाइने गरेको उनको भनाई छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा सहभागी भएर मध्यपुर थिमिको पर्वलाई तस्वीरमा अवलोकन गर्ने अवसर नछुटाउन आयोजकले आग्रह गरेको छ ।