अर्थमन्त्रीलाई ओलीको व्यङ्ग्य : मुसाले अर्थतन्त्र ध्वस्त पार्‍यो, चोट खायो भ्यागुताले

अर्थमन्त्रीलाई ओलीको व्यङ्ग्य : मुसाले अर्थतन्त्र ध्वस्त पार्‍यो, चोट खायो भ्यागुताले

जनयुद्धका नाममा लडेकालाई अनादर गरेर राष्ट्रियसभा सदस्यमा भाइलाई नियुक्त गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार काठमाण्डुको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेको आरोप लगाएका हुन् ।

उनले अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त पारेको दावी गरे । ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो, ध्वस्त पार्यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’, उनले भने ।

त्यसैगरी अध्यक्ष ओलीले राष्ट्रियसभा सदस्यमा नारायण दाहाललाई नियुक्त गरिएकोमा आपत्ति जनाएका छन् । उनले नेकपा माओवादी केन्द्रमा जनयुद्धका नाममा लडेका, त्याग गरेका व्यक्ति हुँदाहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राष्ट्रियसभा सदस्यमा भाइलाई नियुक्त गरेको बताए ।

‘आन्दोलन गरेका, अपाङ्गता भएका, शरीरमा गोली लिएका व्यक्ति काँ छन्, जनयुद्धका नाम लडेका ती सबैलाई छाडेर, अनादर, उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने मति हेर्नुस् । देश बनाउने यिनीहरूका मनमा छैन ।’, अध्यक्ष ओलीले भने ।