काठमाण्डु – नेकपा एमालेका तीन अर्थमन्त्रीले मुलुकको पछिल्लो अर्थतन्त्रबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् । आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे १२ बुँदे धारणा सार्वजनिक गरेका हुन् ।
एमालेे वर्तमान सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थसिद्धितिर केन्द्रित भएका कारण मुलुकको अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा पुगेको निष्कर्ण निकालेको छ ।
‘वर्तमान सरकारका मन्त्रीहरुको विवादास्पद अभिव्यक्ति दिने, कमाउ धन्दामा लिप्त हुने, स्वार्थ नमिले कर्मचारीमाथि जाइलाग्ने, ठेक्कापट्टामा सेटिङ गर्ने र सरकारी निकायहरुबीच सामान्य समन्वय पनि नगर्ने हरकतका कारण अर्थतन्त्र संकटको मोडमा पुगिसकेको छ । तर, मन्त्रीहरुले निर्वाचनका लागि स्रोत चाहियो भनेर खुलमखुला घुस मागिरहेको सुनिन्छ । निजी क्षेत्रले आर्थिक समस्याको समाधानको पहलको त कुरै छोडौँ, व्यावसायिक समस्या राख्न समेत पाएको छैन,’ एमालेका पूर्व अर्थविदहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै गठबन्धन सरकारले एमाले सरकारले गरेका लोकप्रिय कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम, निर्वाचन क्षेत्र रणनीतिक सडक, पालिका सदरमुकाम जोड्ने सडक, सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजना, २० हजार लिटरसम्म निःशुल्क पानी वितरण जस्ता कार्यक्रमलाई रोकेको तथा खारेज गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।
‘यो कुनै व्यक्ति महाप्रसाद अधिकारीमाथि होइन सिंगो प्रणालीमाथिको आक्रमण हो । सरकारमा रहेका व्यक्तिहरुका दुषित आकांक्षा पूरा गर्न उहाँ सहयोगी हुनुभएन । वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गर्दा त्यसको मुकाबिला गरेर अर्थतन्त्र जोगाउन खोज्दा आज गभर्नरलाई पदमुक्त गर्न स्पष्टिकरणको गलत अभ्यास गरिएको छ । यो तत्काल फिर्ता हुनपर्छ,’ उनीहरूले भनेका छन् ।




प्रतिक्रिया