भीमफेदीको चिसापानीगढीमा गाडी दुर्घटना अपडेट : सवारमध्ये १४ जनाको मृत्यु, ६ जना घाइते

भीमफेदीको चिसापानीगढीमा गाडी दुर्घटना अपडेट : सवारमध्ये १४ जनाको मृत्यु, ६ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय गाडी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। चालकसहित २० जना सवार गाडी सडकबाट करिब ७०० मिटर तल खसेको सशस्त्र प्रहरी बलले जनाएको छ।

बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो। दुर्घटनापछि सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले उद्धार गरेका थिए।

सशस्त्रका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा सवार सबै २० जनाको अवस्था पुष्टि भएको छ । जसमा १४ जनाको मृत्यु र ६ जना घाइते छन्।

मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ। दुर्घटनास्थलबाट थप तीन जनाको शव भेटिएको छ। उनीहरूको पहिचान खुल्न बाँकी छ।

मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादव, शिक्षा यादव, दिपिका कुमारी यादव, सुवोध यादव, अनु राय यादव, रोहन यादव, राम दुलार राय यादव, गुड्ड राय यादव, गायत्री देवी यादव र पुनम यादव छन्।

उनीहरूका उमेर ४ देखि ३० वर्षसम्मका छन्। सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय चालक रवि शंकर कुमार मण्डलको पनि मृत्यु भएको छ।

घाइतेमध्ये चक्रघट्टा–४ का मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र देवेन्द्र यादव उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन्।

सुजन यादव, देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादवलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ। देवेन्द्र राय यादवको अवस्था गम्भीर र अन्य दुई जनाको अवस्था मध्यम रहेको छ।

दुर्घटना भएको सडकखण्ड हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने मार्गमा पर्छ। चिसापानीगढीमा यसअघि पनि सवारी दुर्घटना भएका थिए।