हेमन्त केसी
जाजरकोट – जाजरकोटका सत्ता गठबन्धन दलका नेताहरु भागबण्डा मिलाउन नसक्दा हैरान भएका छन् । आशन्न बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनाव नजिकिदै गर्दा सुरुमा प्रचार प्रसारमा तातिएका दलहरु अहिले भागबण्डा मिलाउन नसक्दा सुस्ताएका छन् ।
स्थानीय तहको निर्वाचनमा केन्द्रीय परिपत्र अनुसार सत्ता गठबन्धनका दल बीचमा चुनावी तालमेल गर्ने सैदान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक दलबीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ । जाजरकोटमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजबादी) र जनता समाजवादी पार्टी बीचमा चुनावी तालमेल गर्ने सहमति भएपनि भागबण्डा कसरी मिलाउने भन्ने सकस परेको छ ।
नेकपा समाजवादी र जनता समाजवादी पार्टीको खासै प्रभाव छैन । २०७४ सालमा सात स्थानीय तह मध्य तीन एमाले, दुई कांग्रेस र दुई माओवादी केन्द्रले जितेका थिए । जितेका आफैले राख्दा पनि एमालेले जितेका तीन पालिकामा काँग्रेस र माओवादी केन्द्र बिच भागबन्डामा तानातान पर्ने देखिन्छ । कांग्रेसले पाँच, माओवादी केन्द्रले पाँच र नेकपा समाजबादीले एक पालिका दावी गरेका छन् । काँग्रेस जितेका बाहेक सवै ठाँउमा निकटतम प्रतिद्धन्दी छ । दुई सय देखि हजार मतको अन्तरमा कांग्रेसका उमेदवार पराजित भएका थिए । यस हिसावले पनि कांग्रेसले पाँच पालिका पाउनु पर्ने अडानमा रहेको पार्टी सभापति वेदराज सिंहले बताए ।
कांग्रेसले पाँच दावी गरेपनि चार माओवादीलाइ र आफूलाई तीन पालिका राख्न चाहेको छ । तर समाजवादीले कुनै पनि हालतमा एक पालिका आफुहरुको हुनु पर्ने अडानमा भएपछि भागबण्डामा सकस परेको हो । एक्ला एक्लै चुनाव लड्दा पनि सवै पालिका जित्न सक्ने बलियो सम्भावना छ यद्यपी माओवादीको केन्द्रीय परिपत्र अनुसार गठबन्धन गर्ने कुरामा हामी बाधक छैनौ तर माओवादीको यसपटकको बढ्दो जनमत, २०७४ सालको मत सवै कुरालाई मध्यनजर गर्दा पाँच भन्दा तल झर्ने पक्षमा नरहेको संयोजक ढकबीर रानाले बताए ।
धेरै कार्यकर्ताले भागबण्डाको नाममा न्यायोचित निर्णय नभए गठनबन्धन अस्वीकार गर्ने चेतावनी दिईरहेका छन् । कांग्रेसले पनि आफ्नो प्रभाव क्षेत्र रहेको भन्दै गिभ एण्ड टेक को निति अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका नेता रामदीप आचार्यले गठबन्धन भए काँग्रेस र माओवादी दुवैलाई फाइदा हुने भएकोले मिलेर जान आग्रह गरे । जिल्ला स्तरबाट नमिले माथिल्लो निकायबाटै भएपनि भागबण्डा मिलाउनु पर्ने केही नेताहरुको धारणा छ ।
पार्टीहरुले वडा देखि गाँउ नगरसम्म उम्मेदवारहरुको नामबली चैत्र मसान्त भित्र पठाउन निर्देशन दिईसकेका छन् । वडा देखि पालिकासम्म आकाँक्षी धेरै देखिएका छन् । गठबन्धन हुने कुराले धेरै नेता तथा कार्यकर्ता उत्साहित पनि छन् भने केही ससंकित समेत छन् । गठबन्धन भए ढुक्क सँग जितिने भएकोले आफ्नो पालिकामा भाग पार्न र टिकट हत्याउन धेरै नेताहरु लागिपरेका छन् । जिल्ला र प्रदेश तहका नेताहरुको दैलो चाहर्न थालेका छन् ।
वडा सम्मै गठनबन्धन गर्ने सैद्धान्तिक सहमति गरेपनि कसरी भागबन्डा मिलाउने भन्नेमा कांगेस र माओवादी दुवैमा निकै सकस देखिएको छ । समाजवादीलाई मिलाउनु पर्ने र आफ्नै पार्टीका कार्यकर्ताको भावनालाई समेटेर अघि बढ्नु पर्ने चुनौति यति वेला गठबन्धन दलका नेताहरुलाई परिरहेको माओवादी केन्द्रका नेता गगन खड्काले बताए ।
गठबन्धनको भागबन्डा मिलाउन माओवादी केन्द्रका नेता शक्ति बस्नेत र काँग्रेस नेता राजिब विक्रम शाह समेत लागि परेका छन् । उनीहरुले आन्तरिक तथा बाह्य छलफललाई तिब्रता दिएका छन् । शक्ति बस्नेतले भागबण्डा मिलाउने विषयमा पार्टी भित्र र अन्य दलका जिम्मेवार नेताहरुसँग छलफल गरिरहेको उनका स्वकीय सचिव देवराज बोहराले बताए । ‘शक्ति बस्नेत जाजरकोटबाटै गठबन्धन मिलेको सन्देश दिन चाहनुहुन्छ, त्यसको लागि उहाँले होमवर्क गरिरहनु भएको छ’ बोहोराले भने ।




प्रतिक्रिया