काठमाण्डु – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक गम्भीर दुर्घटनामा जाने बताएका छन् । निर्वाचन आयोगले मंगलबार विराटनगरमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले बैशाख ३० गतेका लागि तोकिएको निर्वाचन रोकेर दुर्घटना निम्त्याउने अवस्थामा आयोग नरहेको बताएका हुन् ।
साथै उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए । ‘निर्वाचन हुन ३१ दिन मात्रै बाँकी रहेको छ । ३० जिल्लाको मतपत्र छापिएर पठाउने क्रममा रहेको र निर्वाचन अधिकृतहरू नियुक्त भएर कार्यालय स्थापनाका तयारीमा छौँ । यस्तो अवस्थामा निर्वाचन रोकेर दुर्घटना निम्त्याउने अवस्थामा आयोग छैन,’ उनले भने ।
सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित पार्ने भ्रामक, तथ्यहीन सूचना र अपमानजनक गतिविधि नियमन गर्ने संरचना क्रियाशील रहेको थपलियाले बताए । त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले कांग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति निर्वाचन आचार संहिताविपरीत भएकाले पत्राचार गरेर प्रस्ट पार्न आग्रह गरिएको बताए ।




प्रतिक्रिया